काठमाडौँ : भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डष्ट्रिजले नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुप सँगको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ ।
क्याम्पा कोला रिलायन्स इन्डष्ट्रिजको एफएमसीजी विंग रिलायन्स कन्ज्यूमर प्रोडक्टस लिमिटेड (आरसीपीएल) द्वारा उत्पादित अन्तर्राष्ट्रियरुपमा ख्यातीप्राप्त भारतीय कोल्ड ड्रिंक ब्रान्ड हो । क्याम्पा कोलाले भारतको प्रतिष्ठित आइपिएल जस्ता इभेन्टहरु स्पन्सर गर्दै आएको छ । क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्सको चौधरी ग्रुपसँगको व्यावसायिक सम्बन्धको विस्तार तथा समय नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गर्ने रिलायन्सले जनाएको छ ।
सन् २०२२ मा क्याम्पा कोला ब्रान्ड खरिद गरेर २०२३ मा यसको व्यावसायिक उत्पादन पुनः सुरु गरे पश्चात रिलायन्सले भारतीय विरासत बोकेको यस हेरिटेज ब्राण्डलाई फेरी एक पटक लोकप्रिय कोल्ड ड्रिंक ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको छ । हाल क्याम्पा कोला भारतको प्रतिस्पर्धी कोल्ड ड्रिंक ब्रान्ड हो ।
“चौधरी ग्रुप जस्तो प्रतिष्ठित साझेदारसँग मिलेर नेपालमा क्याम्पा ब्रान्ड ल्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौँ,“ आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले भने, ’क्याम्पा कोला ५० वर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड हो जसले धेरै पुस्तालाई जोड्ने भावनात्मक सन्देश दिन्छ। हामी नेपालमा दीर्घकालीन लगानीको सोच सहित आएका छौँ ।
क्याम्पा कोला गल्फ कोअपरेशन काउन्सिल (जिसिसी) मुलुकहरूमा पहिल्यै स्थापित भइसकेको ब्रान्ड हो। अब नेपालमा पनि चौधरी ग्रुपले यसको स्थानीय उत्पादन र वितरण गर्नेछ । यो ब्रान्डले नेपाली युवाको ’अडिग आत्मबल र लक्ष्यप्रतिको प्रतिबद्धता’ को प्रतिनिधित्व गर्ने विश्वास दुवै कम्पनीहरूले लिएका छन् ।
कम्पनीका अनुसार क्याम्पा पोर्टफोलियो अन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्टर क्याम्पा इनर्जी बेरी किक प्रारम्भिक रूपमा उपलब्ध हुनेछन्। २५० मिलिलिटर कार्बोनेटेड सफ्ट ड्रिंक (सीएसडी) बोतल (क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज) को उपभोक्ता मूल्य रु. ३० रहेको छ भने क्याम्पा २५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य रु. ४० रहेको छ। रिफ्रेशिङ स्वाद, जोसिलो प्रस्तुति र आकर्षक प्याकेजिङका साथ क्याम्पा कोला नेपाली बजारमा नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा क्याम्पा कोला ल्याउन रिलायन्ससँग सहकार्य गर्नु चौधरी ग्रुप र समग्र देशका लागि गौरवको विषय रहेको बताए । ’यो साझेदारीले नेपाली उपभोक्तालाई गुणस्तरीय र ऐतिहासिक पेय पदार्थको स्वादमा रम्ने अवसर दिनेछ। हामी हाम्रो वितरण प्रणाली र बजार अनुभवको प्रयोग गरेर क्याम्पा कोलालाई नेपाली बजारमा लोकप्रिय बनाउनेछौँ,’ चौधरीले भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij