नायिका वर्षा सिवाकोटीको करिअर अहिले सुखद तरिकाले अगाडि बढिरहेको छ । फिल्म ‘छक्का पन्जा ५’ चलेपछि उनको माग पनि चुलिएको छ । वर्षाको हातमा आधा दर्जन बढी फिल्म छन् । यसैबिच, वर्षाले अभिनय गरेको फिल्म ‘माग्ने राजा’ भदौको ६ गतेबाट रिलिजमा आउँदैछ ।
यो फिल्ममा वर्षा कलाकार केदार घिमिरेको जोडीको रुपमा देखिएकी छिन्। फिल्मको टिजर हेर्दा वर्षा केदारको गुरुको भूमिकामा देखिएको अनुमान लगाउन सकिन्छ। तर, निर्माणपक्षले यो विषयमा केही पनि बोलेको छैन ।
फिल्मबारे वर्षा भन्छिन्–‘मलाई फिल्मको प्रस्ताव आउनसाथ मैले काम गर्न सहमति जनाएँ । किनकी, राम्रो टिमको लोभ थियो । केदार दाइसँग मैले छक्का पन्जा ५ मा काम गरिसकेकाले पनि यो फिल्ममा काम गर्न राजी भएँ ।’सधैं गरिरहेको भूमिका भन्दा यसपटक आफू फरक भूमिकामा देखिन लागेको वर्षाको दाबी छ । उनले, फिल्मको कथावस्तु नै फरक रहेको सुनाइन् । वर्षा भन्छिन्–‘फिल्मको कथावस्तु नै फरक छ । मेरो जुन भूमिका भन्नुभएको छ, त्यसमा उहाँहरूले न्यारेट गर्दादेखि नै त्यस्तो देखिन्छु या देखिन्नँ भन्ने थियो । तर, उहाँहरूको सोचाइ अनुसार नै मैले काम गरेकी छु ।’
फिल्मको टिमको योजना अनुसार नै बनेको भन्दै वर्षाले सफलता पाउनेमा आफू ढुक्क भएको सुनाइन् । वर्षाका अनुसार, फिल्मको कथावस्तुले दर्शकलाई छुन्छ । उनले भनिन्–‘अहिलेको वर्तमान अवस्थालाई फिल्मले चित्रण गरेको छ । हाम्रो समाजले निम्न, उपल्लो वर्ग भनेर सिकाएको छ । फिल्मले सबै वर्गलाई प्रतिनिधित्व गर्छ । अहिलेको राजनीतिक अवस्थालाई पनि यसले चित्रण गरेको छ । फिल्मले राजनीति, साथी, परिवार र प्रेमिकाको कुरालाई बलियो तरिकाले प्रस्तुत गरेको छ ।’
ऋषि लामिछानेको निर्देशनमा सामिप्यराज तिमिल्सिनाले लेखेको यो फिल्मलाई मुनाल घिमिरेले लगानी गरेका हुन् । फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई लगायतका कलाकारहरूको अभिनय छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij