Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई

कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई

इलाम : इलाम माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । उनले यस वर्षमात्र कफीका बिरुवा बिक्रीबाट १३ लाख ५० हजार आम्दानी गरेका छन् ।पाँच वर्षअघि ‘वाङदेल नर्सरी सेन्टर’ स्थापना गरी कफीका बिरुवा उत्पादन गर्दै आएका राई माङसेबुङकै एक असल बिरुवा उत्पादक किसानका रूपमा परिचित छन् ।

फेवाखोला नजिकै गजुरमुखी–इभाङ–चतुरे सडकको छेउमा पाँच रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आएका छन् । यस वर्ष उनले ४५ हजार कफीका बिरुवा बिक्री गरेका छन् ।कफीको बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउने गरेको उनको भनाइ छ । कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले कफीको बिरुवा उत्पादनलाई प्राथमिकतामा राखेको उनले बताए ।

कफीको बिरुवा इलामकासँगै पूर्वको सङ्खुवासभा र भोजपुर जिल्ला तथा छिमेकी मुलुक भारतको सिक्किमसम्म लैजाने गरेका छन् । बिरुवा विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानले खरिद गरी लैजाने गरेको उनको भनाइ छ ।उनले कफीको बिरुवा प्रतिगोटा ३० का दरले नर्सरीबाटै बिक्री भएको बताए ।

राईले नर्सरीमा कफीमात्र होइन, अरु वनपैदावार बिरुवासमेत उत्पादन गर्दै आएका छन् । उनको नर्सरीमा लाम्पाते, सिमल, पानीसाज, खमारी, उतिसलगायत वनपैदावार र आँप, लिची, कटहरलगायत फलफूलका बिरुवा पनि उत्पादन हुँदै आएका छन् । वनपैदावार र फलफूलको बिरुवा प्रतिगोटा ४० रुपैयाँका दरले नर्सरीबाटै बिक्री हुने गरेको उनले बताए ।बिरुवा स्याहारसुसार तथा उखेल्ने र बिक्री गर्ने काममा राजेश आफैँ खट्छन् । उनले छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले बिरुवा उत्पादनमा जोड दिएको बताए ।

उनको नर्सरी फार्मलाई कोशी प्रदेश सरकारको पनि राम्रै सहयोग मिलेको छ । दुई वर्षअघि कृषि ज्ञान केन्द्र इलाममार्फत नर्सरी प्रवर्द्धनका लागि उनले लागत साझेदारीमा दुई लाख अनुदान पाएका थिए । साझेदारीमा व्यवस्थित टनेल निर्माण गरिएको उनले बताए ।कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कानुसार इलाममा एक सय ३५ हेक्टर क्षेत्रमा कफीको व्यावसायिक खेती हुँदै आएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij