Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौँ : पर्वतीय पर्यटक व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले नेपाल चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ । टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले एक विज्ञप्ति जारी गरी गत मङ्गलवार बिहान लेहेन्दे खोलामा आएको बाढीका कारण पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रीहरू समस्यामा परेको बताएका हुन् ।

टानले मितेरी पुल बगाउँदा रसुवागढीबाट सडक मार्ग हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोवर यात्रामा जाने नेपाली, विदेशी तीर्थयात्री तथा पर्यटकहरू तिब्बत प्रवेश गर्नबाट बञ्चित हुनुपरेको भन्दै तत्काल चीन सरकारसँग कूटनीतिक पहल गरी तातोपानी, कोरोला, हिल्सालगायतका नाकाबाट मानसरोवर जाने वातावरण मिलाउन आग्रह गरेको छ ।

टानका अध्यक्ष सागर पाण्डेले कैलाश मानसरोवर यात्रा गर्ने सिजनको मुखमै चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्ने तीर्थयात्री तथा पर्यटकलाई सहज रुपमा भिसा उपलब्ध गराउन गराउन समेत सरकारसँग माग गरे ।

उनले नेपालस्थित चिनियाँ राजदूतावाससँग कूटनीतिक पहल गरी भिसा प्रक्रियालाई छिटो, छरितो र यात्रुमैत्री बनाउन र काठमाडौँमा कुरेर बसेका तीर्थयात्रीलाई छिटोभन्दा छिटो कैलाश यात्रा गर्न पाउने वातावरण बनाउनका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरे । टानले बाढीबाट मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै हराएकाको चाँडो खोजी गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij