अमेरिका : नेपालमा अमेरिकी पर्यटकको सङ्ख्या बढाउन नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले सक्रियता बढाएको छ । महावाणिज्य दूतावासले स्थानीय पर्यटन व्यवसायीहरूसँग शुक्रबार न्यूयोर्कमा अन्तरक्रिया कार्यक्रम गरी अमेरिकीहरूका लागि नेपाल एक उत्कृष्ट एवं आकर्षक गन्तव्य भएको दाबी गर्दै पर्यटन व्यवसायीहरूलाई आफ्नो सञ्जालमा जोड्न आग्रह गरेको हो ।
कार्यक्रममा दूतावासका महावाणिज्य दूत दधिराम भण्डारीले कार्यपत्र प्रस्तुत गर्दै हिमाल अवलोकन एवं आरोहण, कला संस्कृति, प्राकृतिक सौन्दर्य, ऐतिहासिक विरासत, जंगल सफारी एवं आध्यात्मिकताका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै हरेक मौसम पर्यटकका लागि अनुकूल रहेको बताए। अमेरिकी पर्यटक नेपालका लागि दोस्रो ठुलो श्रोत भएको भन्दै महावाणिज्य दूत भण्डारीले अमेरिकी बजारको प्रभावले विश्व पर्यटन क्षेत्रमा प्रभाव पार्ने भन्दै त्यसका लागि सहयोग गर्न स्थानीय पर्यटन व्यवसायीहरूलाई आग्रह गरे।
अमेरिकी पर्यटकहरूको औसत बसाई बढी हुने र त्यसमा पनि औसत दैनिक एक सय डलर खर्च गर्ने हुनाले पनि त्यसले नेपालको पर्यटन व्यवसायमा ठुलो प्रभाव पार्ने उहाँको भनाई थियो । औसतमा अन्य देशका पर्यटकहरूले बढीमा दैनिक ४० डलर खर्च गर्ने सरकारी तथ्याङ्क छ ।
नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले नेपाल पर्यटन बोर्ड र प्यासेफिक एसिया ट्राभल एसोसिएसन (पाटा), न्यूयोर्क च्याप्टर सँगको सहकार्यमा कार्यक्रम गरेको हो । कार्यक्रममा स्थानीय पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार जुन मा ९ हजार ६ सय ९६ जना अमेरिकी पर्यटकहरू नेपाल आएका थिए भने मे मा ९ हजार ७४ जना अमेरिकी पर्यटक नेपाल आएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij