Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

निजी कम्पनीसँगको सम्झौता खारेज, साझेदारी वनको जग्गामा वृक्षारोपण सुरु

निजी कम्पनीसँगको सम्झौता खारेज, साझेदारी वनको जग्गामा वृक्षारोपण सुरु

बारा : दुई दशकदेखि निजी कम्पनीको भोगचलनमा रहेको हलखोरिया साझेदारी वनको जग्गामा वृक्षारोपण सुरु गरिएको छ।नेचुरल हर्बल उद्योग प्रा.लि.ले करिब २० वर्षदेखि उपयोग गर्दै आएको हलखोरिया साझेदारी वनको करिब २९ बिगाहा जग्गामा शुक्रबारदेखि वृक्षारोपण सुरु गरिएको हो।साझेदारी वनका तत्कालीन अध्यक्ष राजकुमार अर्यालले वार्षिक एक लाख पच्चीस हजार रुपैयाँ भाडा आउने गरी करिब ५० बिगाहा वन क्षेत्र विभिन्न निजी कम्पनीलाई उपलब्ध गराएका थिए।

तर, हाल डिभिजन वन कार्यालयले सो निजी कम्पनीसँगको सम्झौता खारेज गरी सो स्थानमा वृक्षारोपण सुरु गरेको डिभिजन वन प्रमुख राजीव कुमार झाले जानकारी दिए।सो क्षेत्रमा अहिले टिक, सतीससाल, मलेसियन साललगायतका बिरुवा रोपिएको छ।

हलखोरिया साझेदारी वन सन् २०६४ मा उपभोक्ता समूहमा हस्तान्तरण गरिएको हो। वन कार्यालयका अनुसार अतिक्रमण बाहेकको वन क्षेत्र नापजाँच गरेर २ हजार हेक्टर जग्गा उपभोक्ता समूहलाई जिम्मा दिइएको थियो।हाल उक्त वनबाट बाराका करिब ४० हजार घरधुरी र २ लाख ४० हजार उपभोक्ताहरू काठ र दाउराका लागि निर्भर छन्।

साझेदारी वनका अध्यक्ष विकल्प भट्टराईका अनुसार हलखोरिया क्षेत्रमा करिब ६ सय हेक्टर वन क्षेत्र अनुत्पादक अवस्थामा छ। यस्तै, करिब ५ सय घरधुरीले वन क्षेत्र अतिक्रमण गरेर बसोबास गरिरहेको उनले जनाए।

'अब साउनदेखि अतिक्रमण खाली गराउने प्रक्रिया सुरु हुन्छ,' अध्यक्ष भट्टराईले भने, 'यसका लागि विभिन्न निकायहरूमा पत्राचार भइसकेको छ। वैज्ञानिक वन व्यवस्थापन लागू भएका प्लटहरू र खाली रहेको वन क्षेत्रमा यस वर्ष वृक्षारोपणको कार्यक्रम छ।'

डिभिजन वन प्रमुख झाले तराईका वन क्षेत्र दिनप्रतिदिन घट्दै गएको र बाँकी रहेका क्षेत्रहरू पनि अतिक्रमण र उजाड अवस्थामा रहेको बताए। उनका अनुसार तराईमा उत्पादनशील वन भएकाले खाली ठाउँहरूमा पुनरुत्पादन गर्न नसक्दा दीर्घकालीन रूपमा वातावरणमा गम्भीर असर पर्न सक्छ।

बिगत २० वर्षदेखि निजी कम्पनीको कब्जामा रहेको जग्गा वन कार्यालयले दुई महिना अघि मात्र फिर्ता ल्याएको हो। कार्यालयले अबदेखि साझेदारी वनको जग्गा निजी कम्पनीलाई भाडामा नदिने निर्णय गरेपछि उपभोक्ता समूहले नेचुरल हर्बल कम्पनीसँगको सम्झौता नै खारेज गरेको हो।

डिभिजन वन प्रमुख झाले यस वर्ष हलखोरिया साझेदारी वनको ५० बिगाहा क्षेत्रमा वृक्षारोपण गर्ने, निजगढको आदर्श सदाबहार सामुदायिक वनभित्र सञ्चालनमा रहेको अलकत्रा उद्योग हटाउने र निजगढ नगरपालिका–१ र २ को सिंगोल क्षेत्रअन्तर्गतको १९ हेक्टर अतिक्रमित वन भूमिमा पनि वृक्षारोपण गरिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij