काठमाडौँ : नेपाल-चीन नाका क्षेत्रको लेन्दे खोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यसअन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।
बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा क्षति पुगेको छ।बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको छ।
बाढीका कारण पानी निकास हुने सुरुङबाटै बाढी पस्दा पावरहाउस जलमग्न छ। हेडबर्क्सलगायत संरचनामा क्षति पुगेको स्टेसन हेड सन्तोष अधिकारीले बताए।रसुवागढी जलविद्युत आयोजना १११ मेगावाट, त्रिशुली थ्री ‘ए’ ६० मेगावाट, चिलिमे हाइड्रोपावर २१ मेगावाट र बेनी हाइड्रोपावर १४ मेगावाट क्षमताका हुन्।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार रसुवागढी आयोजनामा ठूलो क्षति छ। यसमा भौतिक क्षतिको मात्र विवरण संकलन भइरहेको छ। प्राधिकरणले हालसम्म पनि आर्थिक क्षतिको अनुमान गर्न सकेको छैन।
त्रिशुली थ्री ए र बेनीघाट हाइड्रोपावरको पावरहाउसको अगाडि ढुंगागिटी र बालुवामाटो थुप्रिएको छ। पावरहाउसभित्र बाढी पसेको छ। यी दुवै आयोजनाबाट भने अबको एकदुई दिनमा विद्युत उत्पादन गर्न सकिने अवस्था भएको ढकालले जानकारी दिए।
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij