काठमाडौँ : चितवन प्रहरीले नारायणीमा बाढी आउन सक्ने भन्दै माइकिङ गरेको छ । मंगलबार बिहान रसुवागढीस्थित भोटेकोशीमा तिब्बतबाट आएको बाढीले त्रिशूली नदी किनारका बस्ती प्रभावित हुन सक्ने बाढी पूर्वानुमान महाशाखाको अनुमान छ ।
सोहीनअनुरुप चितवन प्रहरीले माइकिङ गरी नदी किनारमा नजान र नदी किनारका बस्तीका स्थानीयलाई सतर्क रहन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।
तिब्बतबाट आएको बाढीको प्रभाव त्रिशूली नदी र बुढीगण्डकी दोभानसम्म देखिन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार बिहान तिब्बतबाट आएको बाढी भोटेकोशी नदीमा मिसिएको हो ।
नारायणी नदी जलाधारको त्रिशूली उपजलाधारअन्तर्गत भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठूलो बाढी प्रवेश गरेको महाशाखाले जनाएको छ । महाशाखाले भनेको छ, 'यस विभागको भोटेकोशीस्थित रसुवा-स्याप्रुबेंसी जलमापन केन्द्रमा आज बिहान ३:३० बजे बाढी पुगेको देखिन्छ ।'
महाशाखाका अनुसार उक्त बाढी बिहान ५ बजेतिर बेत्रावती आइपुगेको थियो । बेत्रावती केन्द्रमा बहाव करिब साढे २ मिटरसम्म बढेको र हाल केही घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ । साथै महाशाखाले त्रिशूली नदी किनार आसपासका स्थानीयलाई सतर्क रहन आग्रह गर्दै भनेको छ, 'प्रारम्भिक रूपमा यस बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (बेनिघाट) आसपाससम्म पर्ने देखिएकोले आज दिउँसोसम्मै सतर्कता जरुरी देखिएको छ।'
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij