Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध

बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध

काठमाडौं : सोमबार रातिको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध बनेको छ। गत शुक्रबार बनेपा नगरपालिका वडा नम्बर १ र ४ को सीमामा रहेको पुण्यमाता खोलाको पुल बगाएपछि ठप्प बनेको यातायात आइतबार बिहान अस्थायी रूपमा सञ्चालनमा ल्याइएको थियो। तर, त्यसै पुललाई प्रतिस्थापन गर्न राखिएका ह्युमपाइपहरू समेत सोमबार रातिको बाढीले बगाएपछि सडक फेरि पूर्ण रूपमा बन्द भएको हो।

धुलिखेल–सुर्यविनायक सडक निर्माणका कारण प्रमुख राजमार्ग नै अवरुद्ध भइरहेका बेला यो सडक वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। तर वैकल्पिक मार्गसमेत भत्किएपछि काभ्रे र काठमाडौंबीचको आवागमन अझै चुनौतीपूर्ण बनेको छ। यात्रु र सवारी चालकहरू दिनहुँ सास्ती भोगिरहेका छन्।

सडक डिभिजन कार्यालय भक्तपुरले पुनः अस्थायी पुल निर्माण गरेर आवतजावत सहज बनाउन प्रयासरत रहेको जनाएको छ। डिभिजन प्रमुख सुमन योगेशका अनुसार यसपटक जालीसहितको संरचना बनाइएपनि लगातारको पानीले टिक्न नसकेको बताए।

स्थायी पुल निर्माणबारे भने निकट भविष्यमै समाधान हुने कुनै स्पष्ट योजना छैन। “अहिले गर्ने भनेको अस्थायी काम हो, स्थायी त प्रक्रिया र समय लाग्ने विषय हो,” प्रमुख योगेशले बताए। राजमार्गको वैकल्पिक मार्ग समेत बारम्बार अवरुद्ध हुँदा स्थानीय र यात्रुहरू दिक्क भइसकेका छन्। वर्षा याममा यस्तो अवस्थाले पूर्वाधारको दीर्घकालीन योजना अभाव देखिएकोप्रति आलोचना भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij