Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

एसपीलाई गाली गरेर बिहार भागे जसपा नेता यादव, भन्छन्- ‘मधेश नेपालबाट अलग भएरै छाड्छ’

एसपीलाई गाली गरेर बिहार भागे जसपा नेता यादव, भन्छन्- ‘मधेश नेपालबाट अलग भएरै छाड्छ’

काठमाडौं : नेपाल प्रहरीको फरार सूचीमा रहेका जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक यादवले एक आपत्तिजनक भिडिओ सन्देश जारी गरेका छन्।हिन्दी भाषामा सार्वजनिक गरिएको भिडिओमा उनले नेपालबाट मधेश अलग हुनुपर्ने आपत्तिजनक अभिव्यक्ति दिँदै आफूमाथि नेपालमा दमन भएको भनेर भारतको बिहार राज्य सरकारसँग सहयोगको याचना गरेका छन्।

उनले भनेका छन्, ‘मधेशमा नागरिकतादेखि तमाम अपराध गरेर मधेसीलाई विदेशी बनाउने चलखेल भइरहेको थियो दमन गरिएको थियो र त्यसको खिलाफ मधेशमा आन्दोलन भएको थियो। मधेश जनविद्रोहमा म पनि सामेल थिएँ। मलाई पुलिस प्रशासनले टर्चर गर्‍यो। तर जनताको शक्तिले म बाहिर रहेँ र मधेश सरकारको गठन भयो।’

यादवले नेपालमा मधेशीमाथि दमन र शोषण भइरहेको आरोप लगाउँदै ‘नस्लवादी, खसवादीहरूले’ दोस्रो दर्जाको नागरिक बनाएको दाबी गरे।उनले भनेका छन्, ‘यो देशबाट मधेश अलग हुनुपर्छ। मधेश आज नभए भोलि अलग हुन्छ।’

उनले नेपालमा आफूमाथि ‘शोषण दमन’ भएको भन्दै भारतको बिहार सरकारलाई गुहारेका छन्। उनले भनेका छन्, ‘म बिहार सरकारलाई आग्रह गर्छु कि यो राजनीतिक मामला हो। हामी आन्दोलनको लडाइँ अहिले पनि लडिरहेका छौँ। यसमा भारतको सपोर्ट मिल्नुपर्छ।’प्रहरीले राति कार्यालय खोलेर कमिसन उठाएको आरोप यादवले लगाएका छन्। यो विषयमा एसपीसँग कुरा गर्दा आफूलाई ‘साले’ भनेर गाली दिएको उनको दाबी छ।

‘मलाई जनताले यस्तो कुरा सुनाउँदा सुरुमा त विश्वास भएन। तर फोटो नै पठाएपछि म आफैँ गए र एसपीसँग कुरा गरेँ। एसपीले मलाई साले भनेर गाली दियो। म पनि आन्दोलनकारी हुँ। मेरो मुखबाट पनि केही शब्द निस्किए,’ उनले भनेका छन्।

यादवले सर्लाही प्रहरीका एसपी र डीएसपीमाथि ‘गुण्डागर्दी’ गरेको आरोप लगाएका छन्। प्रहरीले आफ्ना आफन्तको घरमा छापा मारेको आरोप उनको दाबी छ।नेपाल प्रहरीले पक्राउका लागि सहयोग मागेमा कुनै पनि कदम नउठाउन उनले भारतीय प्रहरी प्रशासनलाई आग्रह गरेका छन्।

आफूलाई आन्दोलनकारीको रुपमा प्रस्तुत: यादवले आफूलाई ‘मधेश जनविद्रोह’मा सामेल भएको दाबी गरेका छन्। उनले भारतले नेपालका आन्दोलनकारीलाई शरण दिँदै आएको र आन्दोलनकारी अपराधी वा हत्यारा नहुने तर्क गरेका छन्।यादवले भिडिओमा नागरिकता लगायतका विषयमा मधेशीलाई विदेशी बनाउने चलखेल भएको भन्दै विगतको आन्दोलनको समेत प्रसङ्ग उल्लेख गरेका छन्।

उनी भन्छन्, ‘नेपालमा मधेशीमाथि दमन र शोषण हुँदै आएको छ। यी नस्लवादी, खसवादीहरूले आज पनि नेपालमा मधेशीलाई दोस्रो दर्जाको नागरिक भनिरहेका छन्। यो देशबाट मधेश अलग हुनुपर्छ। दमन र शोषणले गर्दा आउने दिनमा विद्रोह हुने सम्भावना छ। सिके राउतले हिजो स्वराज मधेशको बिगुल फुकेको थियो। त्यो सही कुरा हो। मधेश आज नभए भोलि अलग हुन्छ। म रहूँ या नरहूँ। मधेशको अर्को पिँढीले यो काम गर्छ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij