Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

पर्यटकको पर्खाइमा ध्वजे डाँडा – फोटो फिचर

पर्यटकको पर्खाइमा ध्वजे डाँडा – फोटो फिचर

धनकुटा :  सूर्योदयको दृश्यावलोकन लागि धनकुटाको डाँडा बजार स्थित ध्वजे डाँडालाई इलामको श्रीअन्तुसँग तुलना गर्ने गरिन्छ। सूर्योदय हेर्न पछिल्लो समय दैनिक हजारौँ पर्यटक इलामको श्रीअन्तु पुग्ने गरेका छन्। पर्यटकीय सिजनको बेला त श्रीअन्तुमा पाइला समेत राख्ने ठाउँ हुँदैन। श्रीअन्तुसँग तुलना गरिने धनकुटाको डाँडा बजार स्थित ध्वजे डाँडामा भने पूर्वाधार र प्रचारप्रसार अभावका कारण निक्कै कम मात्र पर्यटक पुग्ने गरेका छन्।

साँगुरी गढी गाउँपालिका वडा नं। ५ मा रहेको ध्वजे डाँडा पूर्वको सुन्दर पर्यटकीय स्थल मध्येको एक हो। समुद्री सतहबाट २ हजार ४७ मिटरको उचाइमा रहेको ध्वजे डाँडा महाभारत पर्वत शृङ्खला अन्तरगत यो क्षेत्रको दोस्रो अग्लो डाँडा पनि हो। खास गरी यो सिजनमा सूर्योदयको मनोरम दृश्य हेर्न आसपासका पर्यटक यहाँसम्म पुग्ने गरेको छन्।

श्रीअन्तु र ध्वजे डाँडा दुवै ठाउँ पुग्ने पर्यटक सूर्योदयको दृश्य श्रीअन्तु र ध्वजे डाँडाबाट उस्तै देखिने बत्ताउँछन्। यहाँबाट सूर्योदय सहित मकालु, सगरमाथा, कञ्चनजङ्घा लगायतका हिमाल तथा पूर्वका अधिकांश जिल्ला, तराइको फाँट, विभिन्न पर्वत श्रृखला देख्न सकिन्छ।

सिजनमा केही पर्यटक त पुग्ने गरेका छन्। तर डाँडा आसपास सुविधा सम्पन्न होटेल नहुनु, सडक लगायतका पूर्वाधार तथा खानेपानी तथा प्रचारप्रसार अभावका कारण प्रशस्त सम्भावना हुँदाहुँदै पनि धेरै पर्यटकको नजर यहाँसम्म पुग्न सकेको छैन।

अझै पर्यटक तान्नलाई सडक तथा डाँडामा पार्क निर्माण गरिनुपर्ने साँगुरी गढी गाउँपालिका वडा न ५ का स्थानीय निलम लिम्बुले बताउनु भयो। यसका लागि गाउँपालिका लगायत सबै तहको सरकारले गुरु योजना बनाएर काम गरेमा पर्यटक आकर्षित हुने लिम्बूले  बताउनु भयो। पर्यटकीय पूर्वाधारमा पहिलो प्राथमिकता सडक नै भएको स्थानीयको बुझाइ छ। अहिले सडक निर्माणको चरणमा रहे पनि पर्याप्त नभएको स्थानीयको गुनासो छ।

इलामको श्रीअन्तुमा प्रचारप्रसार धेरै भएको र धनकुटाको ध्वजे डाँडाको बारेमा प्रचारप्रसार कम भएको साँगुरी गढी गाउँपालिका वडा न ५ का स्थानीय सरोज लिम्बुले बताउनु भयो। उहाँले इलामको श्रीअन्तुको पहिले नै प्रचार भएको र त्यसैबाट सिकेर ध्वजे डाँडाको विकासमा लागेको सरोजको भनाइ छ। सूर्योदयका लागि श्रीअन्तु भन्दा ध्वजे डाँडाबाट राम्रो देखिने उहाँको भनाइ छ।

पूर्वको पर्यटकीय नगरी भेडेटारबाट १७ किलोमिटर पूर्व तथा धनकुटाको डाँडा बजारबाट १ किलोमिटर माथि ध्वजे डाँडा रहेको छ। यो ठाउँमा ध्वजे डाँडा सहित डाँडा बजार स्थित लाप्चेटारमा रहेको अजगंको बरको रुख पर्यटकको लागि आकर्षणको केन्द्र हो। यो बरको रुखलाई एसियाकै दोस्रो ठुलो रुखको रूपमा रहेको स्थानीय बत्ताउँछन्।

त्यस्तै ध्वजे डाँडाको छेउमै निर्माण गरिएको जैतुन पार्कले समेत पर्यटकलाई लोभ्याउने गरेको छ। यहाँ पर्यटक भित्राउन होम स्टे, सडक लगायतको पूर्वाधार निर्माणको काम गरिरहेको तर सो पर्याप्त नरहेकाले प्रदेश तथा केन्द्र सरकारले समेत सहयोग गर्नुपर्ने साँगुरी गढी गाउँपालिका वडा न ५ का वडाध्यक्ष खड्ग लिम्बु बताउनु हुन्छ।

नेपालको नक्सा निर्माणमा अक्षांश र देशान्तर टुङ्गो लगाउन विशेषज्ञले समेत यो डाँडालाई प्रयोग गर्ने समेत गरेको बिकी पिढियामा समेत उल्लेख छ। यो डाँडासँगै रहेका बनमा विभिन्न लेकाली वनस्पति र जन्तु समेत पाइन्छ।  पूर्वाधार विकास गरी प्रचारप्रसार गर्न सके पर्यटन प्रवर्द्धन हुने कुरामा दुई मत छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij