चितवन : रत्ननगर स्थित भद्रकाली माध्यमिक विद्यालयमा नेपाली सेनाले सञ्चालन गर्ने राष्ट्रिय सेवादल (एनसिसी) तालिम सुरु भएको छ । रत्ननगरको वडा नं. १६ हात्तिगाडेमा रहेको सो विद्यालयमा सोमबारबाट सुरु भएको तालिमको नयाँ सबुज गण भरतपुरका सेनानी जित बहादुर थापा र वडाध्यक्ष हेमराज थापाले संयुक्त रुपमा उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले अनुशासित विद्यार्थीले देशको भविष्य सुन्दर बनाउन सक्ने भन्दै अनुशासनलाई प्राथमिकतामा राखेर तालिम पुरा गर्न सहभागीहरुलाई आग्रह गरे ।
कार्यक्रमका सभाध्यक्ष सेनानी जित बहादुर थापाले युवामा अनुशासित, बफादारिता तथा इमान्दारिताका साथै राष्ट्रिय एकताको भावना विकास गर्न सेनाले तालिम सञ्चालन गर्दै आएको जानकारी दिए । कार्यक्रममा उपसेनानी विशाल जिसिले तालिमको महत्व र उद्देश्य बारे प्रकाश पारेका थिए। युवामा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक बनाएर राष्ट्र विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले तालिम संचालन गरिएको उनले बताए ।
कुल १०० दिन सञ्चालन हुने तालिम ७९ दिनसम्म विद्यालयमा सञ्चालन हुनेछ भने त्यसपछिको २१ दिन राष्ट्रिय सेवा दलको मध्य तालिम शिक्षालयमा नवलपरासी हात्तीखोरमा सञ्चालन हुनेछ ।
उद्घाटन कार्यक्रममा वडा सदस्यहरू ज्ञानेन्द्र रेग्मी, सरिता गुरुङ, रिता वि. क, चिजकुमार श्रेष्ठ, एकीकृत कृषक साकोसका अध्यक्ष, विष्णुप्रसाद अर्याल, भद्रकाली डेरिका अध्यक्ष युवराज थापा, मेलमिलाप समिति संयोजक दिलबहादुर थापा, वडा सचिव मञ्जु पौडेल लगायतको उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी खनालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम सहायक प्रअ दिलीप खनियाँले सञ्चालन गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij