Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवन निकुञ्ज वरपर चोरी सिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

चितवन निकुञ्ज वरपर चोरी सिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

चितवन : चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरी सिकारी नियन्त्रणका लागि ‘स्पाई क्यामेरा’ जडान गरेको छ । निकुञ्जको संवेदनशील क्षेत्रमा यो क्यामेरा जडान गरिएको हो ।निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जका हरेक क्षेत्रमा मानवीय रूपमा उपस्थित भएर सुरक्षा दिन कठिन हुने भएकाले क्यामेरा जडान गरिएको हो । सम्भावित घटनालाई मध्यनजर गर्दै स्पाई क्यामेराबाट निगरानी गरिएको छ । हात्तीद्वारा पट्रोलिङ बढाइएको छ ।

निकुञ्ज क्षेत्रको संवेदनशील स्थानमा ३० स्पाई क्यामेरा जडान गरिएको उनले बताए । यी क्यामेरा गोप्य रूपमा राखिएको छ । यसबाट निकुञ्जभित्र हुने चोरी सिकारी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस क्यामेराले मानिसको आवतजावतका क्रममा तस्बिर खिचेर राख्ने छ ।

संवेदनशील क्षेत्रमा नेपाली सेनाको गस्ती बढाइएको छ । निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको टोलीबाहेक विभिन्न गणका ९० सेनाको टोली यहाँ आएर सुरक्षामा खटिएको छ । निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएका टोलीको पहुँच नपुगेको ठाउँमा ती टोली परिचालन गरिएको उनले बताए । टोलीले वन्यजन्तु संरक्षणका लागि काम गरिरहेको उनको भनाइ छ । यो टोली तीन महिना बस्नेछ ।

मनसुन सक्रिय भएसँगै निकुञ्ज क्षेत्र आसपास बसोबास गर्ने जनता खेतीपातीमा लाग्ने भएकाले यो समयमा चोरी सिकारी बढ्ने जोखिम बढी हुन्छ । चोरी सिकार नियन्त्रण अभियान पनि यो समयमा कम हुने हुँदा वर्षात्को समयमा संरक्षणमा चुनौती थपिने गर्छ ।रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट