Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

खैरहनी नगरपालिकाको आर्थिक सर्वेक्षण सार्वजनिक

खैरहनी नगरपालिकाको आर्थिक सर्वेक्षण सार्वजनिक

चितवन : खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको आर्थिक विवरणको विश्लेषण समावेश गरी आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आर्थिक सर्वेक्षण भित्र नगरपालिकाको आर्थिक, सामाजिक, र पूर्वाधार विकासको अवस्थालाई चित्रण गरिएको छ। सर्वेक्षणले आर्थिक वर्षभित्र भए गरेका आर्थिक कृयाकलाप, विकास निर्माणमा प्राप्त प्रगति, समस्या र चुनौतीका साथमा आगामी आर्थिक वर्षमा गर्नुपर्ने सुधारका सुझावहरु समेत समेटेको छ ।

तथ्यमा आधारित नीति तर्जुमाको सिद्धान्तलाई आत्मसात गर्न र तथ्यांकद्वारा निर्देशित नीति निर्माणलाई कार्यान्वयन गर्न आर्थिक सर्वेक्षण एक अपरिहार्य औजार भएकोले चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा नगरपालिकाको समष्टिगत आर्थिक सूचकहरु, राजस्व परिचालन र खर्च व्यवस्थापनको अवस्था र सोही अवधिसम्मका आर्थिक सामाजिक विकासका प्रमुख सूचकहरु समावेश गरी आर्थिक सर्वेक्षण २०८१/८२ प्रकाशन गरिएको नगर प्रमुख शशी कुमार खनियाले बताए ।

नगर उपप्रमुख कविता उप्रेतीले अर्थतन्त्रका विभिन्न पक्षहरू र महत्त्वपूर्ण नीति तथा कार्यक्रमहरूको कार्यान्वयनबाट हासिल भएका उपलब्धिहरूको विश्लेषणात्मक समीक्षा गरी खैरहनी नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण तयार पारिएको र सर्वेक्षणमा आर्थिक तथा सामाजिक दृष्टिकोणले महत्त्वपूर्ण रहेका कार्यक्रमहरूलाई समेटी तिनले नगरपालिकाको विकासमा पार्ने प्रभाव र प्रवृत्तिको विश्लेषण गरिएको उल्लेख गरिन् ।

नगरपालिकाको आर्थिक सामाजिक अवस्था चित्रण गर्ने दस्तावेजको रूपमा रहेको आर्थिक सर्वेक्षण नगरपालिकाको वार्षिक बजेट पेश गर्नु अगावै सर्वसाधारणको जानकारीको लगि प्रकाशित गर्नुपर्ने कानूनी दायित्व रहेकोले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रकाशित गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले जानकारी दिएका छन् । सर्वेक्षणको तथ्याङ्क र विश्लेषणले नगरपालिकाको नीति निर्माणमा सहयोग पुर्‍याउने प्रमुख प्रशासकीय अधिकृत सापकोटाको दावी छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा केही दिन पहिले आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने व्यवस्था छ । खैरहनी नगरपालिकाले यहि असार १० गते आर्थिक वर्ष २०८२/८३ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट