चितवन : चितवनका दुई फरक स्थानबाट प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा गरिएको प्रहरी अपरेशनमा उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चितवनको राप्ती नगरपालिका–९ अमृतपानीमा बिहीबार बिहान करिब ११:३० गोप्य सूचनाका आधारमा सिद्धीबाट अमृतपानीतर्फ आउँदै गरेको बा १५ प ३६४१ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा चालकले बोकेको झोलाबाट ५ किलो १ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक ५६ वर्षीय उपेन्द्र महतो चितवनको खैरहनी नगरपालिका–१३ सिम्रनीका स्थायी बासिन्दा हुन्। उनलाई मोटरसाइकल र गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भण्डारामा लगिएको हो।
त्यसैगरी खैरहनी नगरपालिका–५ जबकौलीमा बिहान दिउँसो करिब १२:०० बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले २७ वर्षीय सुरज चौधरीलाई आफ्नै घरमा ७ सय ग्राम गाँजा लुकाएर राखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
दुवै घटनामा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। लागुऔषध विरुद्धको अभियानलाई अझ कडाइका साथ अघि बढाइने चितवन प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij