Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रत्ननगर नगरपालिकामा घटना दर्तासम्बन्धी छ महत्त्वपूर्ण निर्णय

रत्ननगर नगरपालिकामा घटना दर्तासम्बन्धी छ महत्त्वपूर्ण निर्णय

रत्ननगर : रत्ननगर नगरपालिकामा घटना दर्ता समस्या तथा समाधान गर्न गठित ‘स्थानीय तहमा गुनासो समन्वय समिति’को तेस्रो तथा यस आर्थिक वर्षको पहिलो बैठकले छवटा प्रस्तावमाथि महत्त्वपूर्ण निर्णय गरेको छ ।

समितिका अध्यक्ष नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले ‘घटना दर्ता संशोधनको वर्तमान समस्या र कानुनी समाधान’सम्बन्धमा सामान्य शुद्धाशुद्धिबाहेक एक वर्षभन्दा पुराना दर्ता भएका घटना संशोधनको वर्तमान व्यवस्था नभएको र संशोधन प्रस्ताव (ऐन संशोधन) राष्ट्रिय सभाबाट पारित भई राजपत्रमा प्रकाशित नभएसम्म व्यक्ति प्रमाणित गर्ने र सो कागजले समस्या समाधान नभएको खण्डमा खारेजी प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय पठाउन सहजीकरण गर्ने निर्णय गरेको छ ।

यस्तै, ‘विदेशमा भएका घटनाको स्वदेशमा दर्ता गर्ने व्यवस्था तथा सहजीकरण’सम्बन्धमा विदेशमा भएका व्यक्तिगत घटना दर्तालाई जन्म–मृत्युको हकमा स्वीकृति प्राप्त १५ वटा नियोगबाट गर्ने तर स्वदेश फर्किसकेको भए दूतावासको प्रमाणित कागजातसहित विदेशको नियोगबाट दर्ता नभएको भनी किटानी निवेदन पेस गरी दर्ता गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

यस्तै, ‘बेवारिसे बच्चा र एकल महिलाबाट जन्म भएका बच्चाको जन्मदर्ता’सम्बन्धमा बसेको बैठकले बेवारिसे बच्चा र एकल महिलाबाट जन्म भएको बच्चा (पितृत्वको ठेगान नभएको)को जन्मदर्ता गर्दा अनिवार्य प्रहरी प्रतिवेदन, वडा तथा टोलको स्थलगत सर्जिमनसहितको प्रक्रिया पूरा गरी कानुनीरुपमा हुनुपर्ने सूचक राखी विधिसम्मत दर्ता गर्ने निर्णय गरेको छ ।

यसैगरी, ‘विवाहको परिणाम (बालविवाह, बहुविवाह र अन्य कारण)बाट जन्म भएको बच्चाको जन्मदर्ता’सम्बन्धी प्रस्तावउपर छलफल गर्दा बालविवाह, बहुविवाह र अन्य कारणबाट जन्मिएका बच्चाको जन्मदर्ता गर्दा मुलुकी देवानी संहिता, २०७४ र कार्यविधि, २०७४ को व्यवस्था र जन्मदर्ता नैसर्गिक अधिकार रहेको नेपालको संविधान, २०७२ तथा कानुन संसदीय मन्त्रालयको परिपत्रसमेतलाई आधार लिई कैफियत खुलाई, सर्जिमिन गराई गर्न सक्ने सहजीकरण गर्ने/गराउने निर्णय गरिएको छ ।

यस्तै, ‘एसइईको परीक्षाका लागि १४ वर्ष पूरा हुनुपर्ने व्यवस्थाले सृजित समस्या व्यवस्थापन’ गर्नेसम्बन्धमा बैठकले हाल एसइई परीक्षाका लागि २०८२ चैत मसान्तसम्म १४ वर्ष पूरा हुनुपर्ने व्यवस्था भएकाले सो कारण उमेर नपुगेर वा अन्य कारण समस्या देखिएकाले वास्तविक उमेर फरक परेको भनी आधिकारिक प्रमाण भएमा एक वर्षभित्रको दर्तालाई संशोधन निर्णय गरी स्थानीय पञ्जिकाधिकारीबाट संशोधन गरिदिने निर्णय भएको छ । तर, एक वर्षअघिको जन्मदर्ताको हकमा सम्बन्धित वडा वा पालिकाको निर्णयसहित रद्द प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा पठाई रद्द भई आएमा नयाँ दर्ताको चाँडो र प्रभावकारी व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ ।

यसैगरी, ‘झुटा विवरण, गलत सूचना तथा प्रमाण पेस गरी भएको दर्ताको समस्या समाधान’का विषयमा छलफल गर्दा झुटा, गलत सूचना विवरण एवम् प्रमाण सङ्कलन गरी दर्ता गरेका व्यक्तिलाई नियमानुसारको कानुनी कारबाही, सजायका लागि जिल्ला प्रशासन कार्यालय वा अदालतमा सिफारिस गरी पठाउने र न्यायिक निरुपणको कार्यमा वडा÷पालिकाले सहयोग, समन्वय र सहकार्य गर्ने निर्णय गरिएको छ ।

पछिल्लो समय विदेशमा भएका जन्म–मृत्यु दर्ता, बेवारिसे वा एकल महिलाबाट जन्मिएका बच्चा, विवाहको परिणाम, एसइईका लागि उमेरको हदबन्दी र झुटा विवरणबाट सृजित समस्या लिएर सेवाग्राही आउने क्रम बढेकाले ‘स्थानीय तहमा गुनासो समन्वय समिति’मार्फत समस्या समाधान तथा सहजीकरण गर्ने प्रयास गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख एवम् सदस्यसचिव रामप्रसाद बस्ताकोटीले बताए ।

कानुनीरुपमा बाधा–व्यवधान नपर्ने घटनाहरुको सहजै समाधान गर्न सकिए पनि जटिल प्रकृतिका घटना दर्ताको समस्या फुकाउन स्थानीय सरकारको समन्वय समितिमार्फत पहल गरिँदै आएको उनले बताए ।

नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा सञ्चालित बैठकमा नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, सदस्य सचिव रामप्रसाद बस्ताकोटी, आमन्त्रित सदस्यहरुमा प्रेस संयोजक केशव भट्टराई र पञ्जीकरण उपशाखाका कर्मचारी सिर्जना क्षेत्रीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij