रत्ननगर : पूर्वी चितवनको राप्ती नगरपालिकामा कार्यरत दैनिक ज्यालादारीका कर्मचारीले ८ महिनादेखिको तलब नै नलिकन घर फर्किनु परेको छ । नगरपालिकाका विभिन्न शाखामा कार्यरत ७३ जना कर्मचारीलाई नगरपालिका प्रशासनले गत जेठ २६ गतेदेखि हाजिर नगर्नु भन्दै तलब दिन नसक्ने जनाउँदै हटाएपछि ।नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोका कारण भन्दै दैनिक ज्यालादारी कर्मचारीलाई हटाएको जनाएको छ । नगरपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारीहरूमध्ये सबैभन्दा बढी भण्डारा अस्पतालमा रहेका थिए । अस्पताल र वडागत रुपमा रहेका आधारभूत स्वास्थ्य केन्द्र र चौकीमा कार्यरत २८ जना कर्मचारी एकैपटक निकालिँदा त्यहाँको स्वास्थ्य सेवा प्रभावित भएको छ ।दैनिक ज्यालादारीमा कार्यरत दुई चिकित्सक सहित एम्बुलेन्स चालक समेत हटाउँदा जनशक्ति अभाव भएको भण्डारा अस्पतालका प्रमुख डाक्टर विनोद रिजालले बताए । गाउँ गाउँमा पुगेर बिरामी बोक्ने एम्बुलेन्स चालक नभएपछि समस्या भएको उनले बताए ।
विशेष गरी सुत्केरी ,अशक्त ,नियमित डायलोसिस गर्नुपर्ने बिरामीहरु अस्पतालमा आउन समस्या भएको डाक्टर रिजालले चित्रवन न्यूजडटकमलाई बताए । एम्बुलेन्स चालक नभएपछि गाउँले बिरामीलाई डोकोमा बोकेर ल्याउनुपरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । साधन स्रोत भएर पनि नगरपालिकाले परिचालन नगर्दा बिरामीले सास्ती खेप्नु परेको उनीहरुको दुखेसो छ ।चिकित्सक र नर्ससहितका कर्मचारी निकालिएपछि अस्पतालको बहिरङ कक्षमा उपचार गर्न आएका बिरामीहरूले समयमै उपचार नपाएर सास्ती खेप्नु परेको छ । त्यहाँको टिकट काउन्टरमा कार्यरत कर्मचारी समेत निकालिएपछि समयमा टिकट दिने कर्मचारी नभएर समस्या भएको अस्पतालका प्रमुख डाक्टर रिजालको भनाइ छ । अस्पतालको आकस्मिक कक्ष सुत्केरी तथा प्रसुति कक्षमा भने त्यहाँ कार्यरत स्थायी तथा करारमा रहेका कर्मचारीबाट व्यवस्थापन मिलाइएको उनले बताए ।
यस सम्बन्धमा नगरपालिकाका सूचना अधिकारी सुरेश न्यौपानेसँग जिज्ञासा राख्दा कुनै कुरा खोल्न चाहेनन् । स्वास्थ्य शाखाको प्रमुख समेतको जिम्मेवारी लिएका न्यौपानेले स्वास्थ्य जस्तो संवेदनशील विषयमा मौन रहेर कर्तव्यबाट विमुख भएको जनगुनासो छ ।राप्ती नगरपालिकामा रहेका दुईवटा एम्बुलेन्सबाट नगर क्षेत्रका बासिन्दालाई निःशुल्क सुविधा दिँदै आएको थियो ।राप्ती नगरपालिकामा जनप्रतिनिधिबीच विगत वर्षदेखि नै राजनीतिक किचलो र तिक्तताले गर्दा कार्यालय प्रमुखलाई तीन महिना बिताउन मुस्किल पर्छ । एक वर्षमा चार/ पाँचजना प्रमुख प्रशासकीय अधिकृत आएर गएको त्यहाँका कर्मचारीको भनाइ छ । अहिले त्यहाँ नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छैनन् । केही महिनादेखि कार्यालयमा प्रमुख नभएपछि अस्थायी तथा करारमा रहेका कर्मचारीले चार महिनासम्म तलब नपाएको गुनासो गरेका छन ।
कर्मचारीले तलब मात्र नपाएका होइनन् प्रमुख प्रशासकीय अधिकृत नभएपछि विकास निर्माणका कामहरू पनि सुस्त गतिमा छन् । पूर्वाधार निर्माणका लागि विनियोजित सशर्त डेढ करोड बजेटका कामको सम्झौता भएर काम हुँदा पनि भुक्तानी दिन बाँकी रहेको पशुपंक्षी विकास शाखाका प्रमुख शैलेन्द्र भण्डारीले चित्रवन न्यूजडटकमलाई जानकारी दिए ।सम्झौता गरी निर्माणाधीन अवस्थामा रहेका पुँजीगततर्फका योजनाको यसै आर्थिक वर्षमा १२ करोड भुक्तानी दिन बाँकी रहेको शाखा प्रमुख भण्डारीले बताए । प्रमुख प्रशासकीय अधिकृत नभएसम्म सबै किसिमका भुक्तानी रोकिने उनको भनाइ छ ।
उता नगरपालिकाले दूधमा दिँदै आएको अनुदानको रकम पनि किसानले पाउन सकेका छैनन् । किसानलाई एक करोड ५२ लाख रुपैयाँ दिनुपर्ने पशुपति विकास शाहका प्रमुख भण्डारीले बताए । त्यहाँका छ वटा सहकारीमा दैनिक दूध सङ्कलन गर्दै आएका किसानले भुक्तानी पाउन सकेका छैनन् ।तलबै नदीई बिदा गरिएका दैनिक ज्यालादारीका कर्मचारीलाई बाँकी तलब भत्ता दिन कार्यपालिकाको बैठकले पास गरी नगरसभामा पेश गर्नुपर्ने राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताए । नगरसभाबाट पारित भएपछि मात्रै उनीहरूलाई भुक्तानी दिने बाटो खुल्ने मेयर लामाको भनाइ छ ।ज्यालादारीका कर्मचारी हटाउने निर्णय नगरपालिकाको १४औँ नगरसभाबाट गठित सहजीकरण समितिले गरेको थियो । समितिको जेठ १९ गते बसेको बेठकको निर्णय अनुसार हटाउने प्रक्रिया अघि बढाएको हो । प्रमुख लामाले ज्यालादारी कर्मचारीलाई करारमा लैजान कार्यपालिकाबाट ‘ओएनएम’ गरेको भएपनि परिषद् हुन नसक्दा निर्णय गर्न नसकिएको बताए । गत आर्थिक वर्षदेखि अहिलेसम्म परिषद् हुन सकेको छैन । उनीहरुको चैतसम्म म्याद रहेकोमा थप निर्णय गर्न नसक्दा समस्या परेको उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij