चितवन २ असार २०८२ : चितवनको खैरहनी-८ स्थित आहार क्याफेमा खाजा खाइरहेका बेला खुकुरी प्रहारबाट घाईतेहरुले न्याय नपाएको गुनासो गरेका छन् ।गत बैशाख ३० गते दिउँसो आहार क्याफेमा खाजा खाने क्रममा एक समुहले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए। सो बेला गैंडाकोट बस्ने सरोज क्षेत्री लगायतका ३/४ जना व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनीहरूलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले जानकारी दिएका थिए।
खुकुरी प्रहारबाट चितवनको राप्ती-४ बस्ने २८ वर्षीय दिपेन्द्र सिंह गोलेको बायाँ हातको नाडीमा गहिरो चोट, राप्ती-२ बस्ने २८ वर्षीय गणेश लामाको बायाँ हात र तिघ्रामा चोट लागेको थियो यसैगरी खैरहनी-९ सिमलटाँडी बस्ने २७ वर्षीय अमृत आचार्य पनि घाइते भएका थिए। गम्भीर घाइतेहरु चितवनको एक हस्पिटलमा अझै उपचाररत रहेका छन् । तर उदेकलाग्दो कुरा के छ भने घटना घटेको महिनौं बितिसक्दा पनि खुकुरी प्रहार गर्ने समूह अझै कानूनको पहुँचभन्दा बाहिर रहेका छन् । चितवनका प्रहरी प्रशासनले उनीहरुलाई अहिलेसम्म कानुनको कठघरामा उभ्याएका छैनन् । ती अभियुक्तहरू खुलेआम सामाजिक सञ्जालमा भिडियोहरू पोस्ट गर्दै, नेपाल प्रहरीको असक्षमता र निरीहता माथि व्यङ्ग्य गर्दै हाँसोको पात्र बनाइरहेका छन्।
पीडितहरु अस्पतालमा जीवन र मृत्युबीच संघर्ष गरिरहंदा थोरै भएपनी मल्हम लगाउने कार्य प्रहरी प्रशासनबाट नभएको पीडितहरु बताउँछन् । राज्यको संयन्त्रले न त अपराधी खोज्न सफल भएको छ, न त कुनै जवाफदेही प्रतिवेदन नै सार्वजनिक गरेको छ। अपराधी खुलेआम हिँड्ने, सामाजिक सञ्जालमा उन्मुक्तताको उत्सव मनाउने र प्रहरी प्रशासनले कुनै जवाफ नदिनुले समग्र देशको कानून व्यवस्था र आम नागरिकको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij