Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रत्ननगरमा ‘टोल-टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना’ अभियान सुरु

रत्ननगरमा ‘टोल-टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना’ अभियान सुरु

रत्ननगर, असार २ : रत्ननगर नगरपालिकाले विपन्न र सिमान्तकृत समुदायलाई लक्षित गरी ‘टोल-टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना अभियान’ सुरु गरेको छ। सतप्रतिशत घटना दर्ता अभियानअन्तर्गत सञ्चालित यो कार्यक्रम सोमबार वडा नम्बर १३ को प्रेमवस्ती र रामजानकी टोलमा आयोजना गरी सुरु भएको छ। असार ६ गतेसम्म चल्ने यो अभियानले नगरपालिकाका विभिन्न वडाका टोलहरूमा सामाजिक सुरक्षा भत्ताको महत्व र प्रक्रियाबारे जानकारी दिने लक्ष्य राखेको छ।

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले कार्यक्रममा बोल्दै ज्येष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण अपाङ्ग, अशक्त अपाङ्ग, बालबालिका र आदिवासी जनजातिलाई सात शीर्षकमा भत्ता वितरण भइरहेको बताए। उनले भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएको र साउन-भदौमा वडा कार्यालयमा नवीकरण गर्नुपर्ने जानकारी दिए। ‘नवीकरण नगरे भत्ता रोकिन्छ,’ उनले भने, ‘स्वास्थ्य कारणले उपस्थित हुन नसक्नेले संरक्षकमार्फत नवीकरण गर्न सक्छन्।’

विदेशमा रहेका व्यक्तिको नवीकरण नहुने, तर स्वदेश फर्किएपछि निवेदन दिएमा अर्को महिनाबाट भत्ता पाइने बस्ताकोटीले प्रष्ट पारे। अन्य जिल्लामा रहेका व्यक्तिले त्यहीँबाट नवीकरण गर्न सक्ने र हाल नगरपालिकाले १२ वटा बैंकमार्फत १६ वडामा भत्ता वितरण गरिरहेको उनको भनाइ थियो। वडा नम्बर १३ मा कामना सेवा विकास बैंकमार्फत भत्ता वितरण भइरहेको छ।

बस्ताकोटीले पेन्सन लिने व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने र दोहोरो सुविधा लिन नमिल्ने बताए। ज्येष्ठ नागरिकको भत्ताका लागि पहिले ६८ वर्षको उमेर सीमा भए पनि हाल सरकारले ७० वर्ष पुर्‍याएको प्रावधान लागू गरेको उनले जानकारी दिए ।

वडा नम्बर १३ का वडाध्यक्ष पोटबहादुर घिमिरेले यो अभियानले योग्य व्यक्तिलाई भत्ता प्राप्त गर्न सहज हुने बताए। ‘स्वास्थ्य कारणले बैंक जान नसक्ने लाभग्राहीका लागि हामीले घरमै भत्ता पुर्‍याउने व्यवस्था गरेका छौँ,’ उनले भने। वडा कार्यालय सधैँ सेवाग्राहीको सहयोगका लागि तयार रहेको उनको प्रतिबद्धता थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij