चितवन, असार १ गते : चितवनमा ठुला सभा सम्मेलन तथा महोत्सव गर्ने एक मात्र स्थल नारायणी नदी किनार हो । साँझबिहान पैदल हिँड्नेदेखि केही समय टहल्ने, आराम गर्ने स्थलका रूपमा नदी किनारमा भिड लाग्ने गर्छ । धार्मिक कार्यदेखि मानिसको जमघट हुने हरेक व्रिmयाकलापको केन्द्र नारायणगढनजिकैको नारायणी किनार आकर्षक गन्तव्य हुँदाहुँदै पनि कटानको जोखिम बढ्दै गएको छ ।
गत वर्ष असोजमा आएको बाढीका कारण यो स्थानको जमिन एक मिटरभन्दा धेरै गहिरो खाडल बनाएर माटो बगाएको छ । खाडल भएकै स्थानमा गत पुसमा चितवन महोत्सव सम्पन्न भयो । खाल्टोमै हरेक गतिविधि भएका छन् । खाल्टो भएको स्थान पुरेर प्राकृतिक रूपमा नै संरक्षण गर्न सकिएन भने नदीको धार परिवर्तन भएर यही ठाउँ भएर बग्ने जोखिम बढेको छ । यस स्थानबाटै नदी बगेमा नारायणगढ बजार नै उच्च जोखिममा पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
नारायणी नदी व्यवस्थापन आयोजना कार्यालयका सिनियर डिभिजनल इन्जिनियर तथा नदी कटानसम्बन्धी विज्ञ प्रकाश लम्सालले नदी कटानको जोखिम रोक्न छिटो प्राकृतिक संरक्षण गर्नुपर्ने बताउनुहुन्छ । “नदी किनारको उत्तरी क्षेत्रमा प्राकृतिक रूपमा ठुला ढुङ्गा बिछ्याएर कटान रोक्नु पर्छ,” उहाँले भन्नुभयो, “यहाँ कङ्व्रिmटको रोकावट गर्न हुँदैन । त्यो अझ जोखिमपूर्ण हुने गर्छ ।” कङ्व्रिmटले रोकथाम गर्दा प्राकृतिक रूपमा उपयुक्त हुँदैन । एक किलोमिटरभन्दा लामो नदी किनारको चौरमा ठाडो गरेर आधा दर्जन स्थानमा प्राकृतिक संरक्षण गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
“नदी किनार मानिसको मात्र वासस्थान होइन । यो माछा, जलचर तथा अन्य प्रजातिको पनि वासस्थान हो । प्राकृतिक रूपमा ठुला ढुङ्गा ल्याएर अहिले भएको चौरमा बिछ्याउन सकेमा माटो कटान रोकिन्छ,” लम्सालले भन्नुभयो । पहाडमा हाम्रा पुर्खाले ठुला ढुङ्गाको आड लगाएर खेत जोगाउनुभएको थियो । पहाडको ठाडो खोलाको कटानसमेत त्यस्ता ठुला ढुङ्गाले रोकेको थियो, लम्सालले भन्नुभयो, “अहिले पनि त्यस्तो ठाउँ पहाडमा सुरक्षित देखिन्छ ।”
त्यस्तै गरी नारायणी नदीको कटान दीर्घकालीन रूपमा रोक्नका लागि नदी किनारको सुन्दर चौर बचाइराख्न ढुङ्गाको ब्रेकर राख्नुपर्ने उहाँ बताउनुहुन्छ । यस विषयमा कार्यालयसँग बजेटको अभावले काम गर्न सकिएको छैन । यसका लागि जनप्रतिनिधिले चासो दिएर संरक्षणका लागि बजेट पारेर काम गर्र्नुपर्ने उहाँको भनाइ छ । दुई वर्षअगाडि नारायणी नदी किनारमा ‘सिबिच’ को अवधारणा अनुसार ढलान गरेर कटान रोकिएको थियो तर त्यो संरचनाभन्दा पर बस्तीनजिक पुगेर नदीले चौरमा खाल्टो बनायो उहाँले जानकारी दिनुभयो । “अब भएको चौरलाई संरक्षण गर्न ढलान होइन, ढुङ्गाको ब्रेकर राख्नु पर्छ । यो नै प्राकृतिक संरक्षण हो,” लम्सालले भन्नुभयो ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नदी किनारको संरक्षणमा पहल गरे पनि बजेट सुनिश्चित नभएका कारण अहिले निर्माणको कुनै काम हुन नसक्ने बताउनुभयो । “हामीले यो स्थानमा कङ्व्रिmटबाट होइन, ठुला ढुङ्गा राखेर संरक्षण गर्नु पर्छ भन्ने सोचेका छौँ,” उपप्रमुख अधिकारीले भन्नुभयो, “सङ्घीय सरकारबाट बजेट निकासा हुने गरी पहल भएको छ ।”
नारायणी पुलबाट दक्षिणतर्फ भएको तटबन्धनको केही भागमा ठुला ढुङ्गा राखेर तटबन्ध गरिएको छ । कङ्व्रिmट ढलान वा पर्खाल लगाएर तटबन्ध गर्दा प्राकृतिक रूपमा त्यो राम्रो मानिँदैन । त्यसैले ती स्थानमा प्रकृतिमैत्री तटबन्ध गरिएको हो, विज्ञ इन्जिनियर लम्सालले भन्नुभयो । यसरी तटबन्धन गर्दा प्रकृतिमैत्री हुन जान्छ । जलचरको बासस्थान हुन्छ । नदी कटानबाट जोगिन सकिन्छ तर यस्तो विषयमा सोच्ने र योजना बनाउने नगरिएको उहाँले बताउनुभयो ।
चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमनकुमार श्रेष्ठले नारायणी नदी किनार संरक्षणका लागि प्रदेश सरकारसँग पहल गरे पनि अहिलेसम्म कुनै निकास ननिस्केको बताउनुभयो । “हामीले प्रदेशको वन मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा जानकारी गराएका छौँ,” उहाँले भन्नुभयो, “प्रदेश सरकारले संरक्षणका लागि बजेट निकासा गरे सुरक्षित हुन सक्छ ।”
समयमा संरक्षण गर्न नसकेमा नारायणी नदीको भङ्गालो नै अहिले भएको चौरमा पस्न सक्छ । गत वर्षको जस्तै बाढी आयो भने नदी किनारकै बस्ती कटानको जोखिममा पर्ने उहाँले बताउनुभयो । नदी नियन्त्रणको प्रयास नगरेमा नारायणगढ बजार नै जोखिममा पर्न सक्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले यो वर्ष बजेट छुट्याएर काम नगरे निजी क्षेत्रको पहलबाटै रोकथामका उपाय गर्ने छौँ ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij