कालिका, चितवन : कालिका नगरपालिकाले स्थापनाको करिब एक दशकपछि समग्र नगरलाई कालोपत्रे सडक सञ्जालमा जोड्ने ऐतिहासिक सफलता हासिल गरेको छ। नगर प्रमुख विनोद रेग्मीको दूरदर्शी नेतृत्व, कडा परिश्रम र जनउत्तरदायी कार्यशैलीकै परिणामस्वरूप आज सम्पूर्ण वडाहरू पक्की सडकमार्फत एक आपसमा जोडिएका छन् ।

सिद्धि दोभानदेखि वडा नं. ११ सम्मको कालोपत्रे सडक निर्माण कार्य हालै सम्पन्न भएको छ, जुन संघीय सरकारको २ करोड ८८ लाख रुपैयाँको समपूरक अनुदानबाट सम्पन्न गरिएको हो । यस सडकले नगरका सबै वडाहरूलाई एकीकृत सडक पहुँचमा ल्याएको छ, जसले आवागमन, विकास, आपतकालीन सेवा, शिक्षा तथा स्वास्थ्य पहुँचमा गुणात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।
मेयर रेग्मीले नगर समृद्धिको आधार पूर्वाधारमै रहेको स्पष्ट गर्दै यस कार्यलाई आफैँ नेतृत्वदायी रूपमा अघि बढाएका थिए । उनले उपमेयर विमला तामाङसहित सडक निर्माणको नियमित अनुगमन गर्दै निर्माणको गुणस्तर, समयसीमा र पारदर्शिता सुनिश्चित गरेका छन् ।
स्थानीयवासीहरू मेयर रेग्मीको यो प्रयासबाट उत्साहित छन् । उनीहरू भन्छन्, “पहिला हिँड्नै नसकिने बाटो थियो, अहिले गाडी आउँछ, एम्बुलेन्स आउँछ, स्कुल जान सजिलो भएको छ । हामीले विकास महसुस गरिरहेका छौं ।”
मेयर रेग्मीले भने, “कालिका नगरलाई समृद्ध र सुविधायुक्त बनाउने हाम्रो सपना हो । सडक भनेको विकासको मेरुदण्ड हो, हामीले त्यो आधार तयार गरेका छौं।”उनको नेतृत्वमा कालिकामा हाल कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र साना पूर्वाधारको समुचित विकासमा ध्यान दिइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij