नवलपुर : जलकुम्भीले ढाकेर नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा परेसँगै यसलाई जोगाउन ताल सफाइ गर्न थालिएको छ । ताललाई जलकुम्भीसहित झारले ढपक्क ढाकेर अस्तित्वनै सङ्कटमा पर्न थालेसँगै सफाइकार्य सुरु गरिएको हो ।
पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको ताल कावासोती नगरपालिका–७ र ८ मा पर्दछ । कावासोती तालका रूपमा समेत चिनिने यस तालको क्षेत्रफल ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशको अभिलेखअनुसार तीस हजार ७१३ वर्ग मिटर रहेको छ । ताललाई जलकुम्भीसहितका झारले ढाकेर हरियो चौर जस्तो देखिने अवस्थामा पुगेपछि कावासोती नगरपालिकाले यसको सफाइ थालेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत तालको सफाइ काम सुरु गरिएको रोजगार शाखा कावासोतीका रोजगार संयोजक प्रतिक्षा पौडेलले बताउनुभयो । एक हप्तादेखि तालको सफाइको काम जारी रहेको उहाँले बताउनुभयो । रोजगार शिर्जनासँगै तालको सफाइको काम हुने भएकाले जनशक्ति परिचालन गरिएको उहाँले बताउनुभयो ।
नियमित रूपमा तालको सफाइको काम हुन नसकेको अवस्थामा अहिले रोजगार शाखाद्वारा जनशक्ति परिचालन गरी सफाइको काम थालिएको हो । दैनिक रूपमा करिब पच्चिस जनाको हाराहारीमा जनशक्ति ताल सफाइमा जुटेका छन् । ‘बेरोजगारको सूचिमा नाम टिपाएकालाई केही दिन रोजगारमा जोड्ने गरी ताल सफाइमा जुटेका हौँ, यसले ताललाई पुरानो अस्तित्वमा फर्काउन सहयोग पुग्ने विश्वास छ’ कार्यक्रम संयोजक पौडेलले भन्नुभयो ।केही वर्ष अघिसम्म ताल सफा रहेको थियो । नियमित सफाइ नगर्दा ताललाई जलकुम्भी र झारले ढाक्दै गएको हो ।
टरुवा तालसँगै हरियाली वातावरण, नजिकै रहेको नर्मदेश्वर महादेव मन्दिर, ताल परिसरसँगै जोडिएको गुम्बा आफैमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन् । यसलाई जोडेर एकिकृत रूपमा विकास गर्न सके जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य बन्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताउनुभयो । पूर्वपश्चिम राजमार्गबाट करिब एक किलोमिटरमा रहेको प्राकृतिक रूपमा सुन्दर ठाउँ भएकाले यसको संरक्षणमा थप काम गर्नुपर्ने अध्यक्ष महतोले बताउनुभयो ।
हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ । हालको बजार क्षेत्र मानिने कावासोती–२, ३, ८ मा तत्कालीन वस्ती विकासको समयमा खानेपानीको उपलब्धता नहुँदा टरुवा तालको पानीले स्थानीयले आवश्यकता परिपूर्ति गर्ने गर्दथे । सोही तालको मुहानबाट पानी ल्याएर यहाँका बासिन्दाले पिउने, गाईवस्तुलाई खुवाउन देखि घर निर्माणकार्यसमेतमा प्रयोग गर्ने गर्दथे । टरुवा ताल भएकै कारण पानीको उपलब्धता भएको र हालको कावासोती बजारको रूपमा विकास भएको भन्ने धारणा रहिआएको छ । यसकारणपनि ताललाई ऐतिहासिक टरुवा तालको संज्ञा दिने गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij