Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रत्ननगर नगरपालिकामा सघन सहरी विकास कार्यक्रम : २१ करोड ५० लाखको योजना

रत्ननगर नगरपालिकामा सघन सहरी विकास कार्यक्रम : २१ करोड ५० लाखको योजना

रत्ननगर :रत्ननगर नगरपालिकाले सघन सहरी विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षका लागि २१ करोड ५० लाख रुपैयाँ विनियोजन गरी विभिन्न पूर्वाधार विकासका योजनाहरू अघि सारेको छ। नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार यो बजेटले शिक्षा, सडक, साइकल लेन, भूमिहीन तथा सुकुम्बासी बस्तीको व्यवस्थापन र सौराहा बजारको सौन्दर्यकरणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यस कार्यक्रमअन्तर्गत जनजागृति माध्यमिक विद्यालयमा पाइलट भवन निर्माणका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ, जसले शैक्षिक वातावरणलाई थप सुदृढ बनाउनेछ। त्यस्तै, सालघारीको भूमिहीन बस्तीमा आधारभूत पूर्वाधार निर्माण र रत्ननगर वडा नं. १२ को सुकुम्बासी बस्तीमा सडक र नाला निर्माणका लागि समान ३-३ करोड रुपैयाँ विनियोजन गरिएको छ। यी योजनाले बस्तीका बासिन्दाहरूको जीवनस्तर उकास्न र यातायात तथा सरसफाइमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ।

सडक सञ्जाल विस्तारमा जोड दिँदै रत्ननगर वडा नं. ३ को शान्ति चोकदेखि पारिजात हुँदै कालिका जोड्ने सडकको निरन्तरताका लागि ७५ लाख रुपैयाँ छुट्याइएको छ। यस्तै, सौराहादेखि खैरहनीसम्मको साइकल लेन स्तरोन्नतिका लागि ३ करोड र सौराहा बजारको सौन्दर्यकरण, पूर्वाधार निर्माण र सडक-नाला व्यवस्थापनका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ। यी योजनाले सौराहालाई थप आकर्षक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ। साथै, रत्ननगर वडा नं. १२ को जनचेतना कल्याण टोलको पूर्वतर्फको बाटो कालोपत्रे गर्न ३ करोड रुपैयाँ छुट्याइएको छ, जसले स्थानीयको यातायात सुविधालाई सहज बनाउनेछ।

मेयर सापकोटाले यी योजनाहरूका लागि आर्थिक सहयोग प्रदान गर्ने संघीय सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्। यो बजेटले रत्ननगरको समग्र विकासमा कोसेढुंगा सावित हुने उनको विश्वास छ। यी योजनाहरूले शिक्षा, यातायात, बस्ती व्यवस्थापन र पर्यटकीय क्षेत्रको सौन्दर्यकरणमार्फत नगरको दिगो विकासमा ठोस योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij