Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ

देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ

चितवन : धार्मिकस्थल देवघाटधामदेखि कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्मको ऐतिहासिक कालीगण्डकी पदयात्रा सुरु भएको छ । आज बिहान देवघाटस्थित बेणीमा गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरिएको हो ।

देवघाटस्थित महेश सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी मधुसुदनानन्द गिरी, अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरी र डा गुरुप्रसाद सुवेदीलगायतले गण्डकी पूजा गरी यात्रा शुभारम्भ गर्नुभएको हो । जनस्तरमा गण्डकीको महत्व र सम्भावनालाई प्रचारप्रसार गरेर कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण तथा संवर्द्धनमा टेवा पु-याउने उद्देश्यले नेपाल तथा भारतका मुख्य पीठ र आश्रमका साधुसन्त एवम् धार्मिक अभियन्ताको अगुवाइमा पदयात्रा सुरु गरिएको पदयात्राका संयोजक फणीन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार पदयात्राका क्रममा देवघाटधाम–केलादीघाटधाम–राम्दीधाम–ऋषिकेशधाम–रुद्रवेणीधाम–सेतीबेनीधाम–मोदीबेनीधाम–गलेश्वरधाम–कागबेनीधाम–मुक्तिनाथधाम– दामोदरकुण्डधाममा विशेष पूजा एवं जागरणसभा हुने छ ।

उहाँले भन्नुभयो, “ऐतिहासिक पदयात्रामा सहभागी हुन चाहने सबै भक्तजन मुख्य तीर्थहरूमा हुने विशेष गण्डकी पूजन र जागरण सभामा सहभागी बन्न सक्नुहुनेछ ।” यात्रामा दैनिक आठ घण्टा २० किलोमिटरसम्म यात्रा गरिने जनाइएको छ । नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा गुरुप्रसाद सुवेदीले कालीगण्डकीको महिमा जनमानसमा पु-याउने यात्राको उद्देश्य भएको बताउनुभयो ।

गण्डकीको किनारमा भएका विभिन्न धार्मिक स्थलहरुका संरक्षण एवं प्रवर्द्धनमा यात्राले सहयोग पुग्ने उहाँको भनाई छ । जीवन जिउने आधार प्राकृतिक स्रोत सम्पदा भएको उल्लेख गर्दै नदीलगायतको संरक्षणमा सबै जुट्नुपर्ने उहाँले बताउनुभयो । देवघाटस्थित महेश सन्यास आश्रमको संयोजनमा आजजेखि शालिग्राम करिडोरको ४३१ किलोमिटर दूरीको पदयात्रा सुरु भएको हो ।समुद्री सतहबाट २२० मिटर देखि चार हजार ९९० मिटर उचाइ सम्म २२ देखि २५ दिन यात्रा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij