चितवन: मत्स्य विकास केन्द्र भण्डाराले यस आर्थिक वर्षमा रु तीन करोड ६३ लाख १८ हजार माछाका भुरा बिक्री गरेको छ । चालु आर्थिक वर्षमा रु छ करोड ५३ लाख माछाका भुरा बिक्री गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म लक्ष्यअनुसार माछाका भुरा बिक्री हुन नसकेको हो ।
केन्द्रका प्रमुख माधवप्रसाद दाहालका अनुसार अहिलेसम्म ह्याचलिङ गरिएका (सातदिने) भुरा रु तीन करोड ११ लाख, एक महिनासम्मका (फ्राई साइज) का ४७ लाख ५० हजार, पाँचदेखि आठ ग्रामका (फिङ्गलिङ्क) दुई लाख १५ हजार र पाङ्गास दुई लाख ५३ हजार ४०७ गोटा बिक्री गरिएको छ ।
खाने माछा १७ क्विन्टल ९८ किलो बिक्री गरिएको छ । अहिलेसम्म रु २८ लाख ५० हजारको माछाका भुरा बिक्री गरिएको उहाँले बताउनुभयो । केन्द्रले यस आर्थिक वर्षमा ह्याचलिङ गरिएका (सात दिने) भुरा छ करोड, एक महिनासम्मका (फ्राई साइज) का ५० लाख, पाँचदेखि आठ ग्रामका (फिङ्गलिङ्क) पाँच लाख र पाङ्गास एक लाख गोटा बिक्री गर्ने लक्ष्य राखिएको छ ।
खाने माछा एक टन बिक्री गर्ने लक्ष्य राखिएको दाहालले बताउनुभयो । केन्द्रले चितवनसहित २५ जिल्लामा माछाका भुरा पु¥याउँदै आएको छ । उहाँले भन्नुभयो, “जिल्लामा निजी क्षेत्रबाट माछाका भुरा बिक्री वितरण हुँदै आएको छ, त्यस कारण भुरा लैजान आउनेको सङ्ख्यामा कमी आएको छ ।” बारा र पर्साबाट आउनुपर्ने माछापालक किसान अहिले सोचेअनुसार नआएको उहाँले बताउनुभयो ।
चितवनमा मात्रै १० देखि १२ वटा निजी क्षेत्रले माछाका भुरा उत्पादन गरेर बिक्री वितरण गर्ने गरेको उहाँले जानकारी दिनुभयो । निजी क्षेत्रभन्दा सस्तोमा भुरा पाउने भएकाले चितवनसहित नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), बारा, पर्सा, रौतहट, गोरखा, लमजुङ्, तनहुँ, कास्की, कपिलवस्तुदेखि माछाका भुरा लिन यहाँ आउने गरेको उहाँले बताउनुभयो । अझै एक महिनाभन्दा बढी समय रहेकाले भुरा माछा लक्ष्यअनुसारको बिक्री हुने उहाँले अनुमान गर्नुभयो । केन्द्रले १५ हेक्टर जलाशयमा माछाका भुरा र खान योग्य माछा उत्पादन गरेर बिक्री गर्दै आएको छ
। यहाँ विगहेडकार्प, कमनकार्प, भाकुर (कत्ले), रघु, नैनि, सिल्भर कार्प, ग्रासकार्पका भूरा उत्पादन गरिन्छ । माछाका भुरा वर्षभरि नै बिक्री वितरण गरिने गरेको दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले माछाका भुरा लिन आउनेलाई वर्षभरि नै बिक्री वितरण गर्ने गरेका छौँ ।” विसं २०२६ मा खाने माछा बिक्री वितरण गर्ने योजनाका साथ स्थापना गरिएको केन्द्रले विसं २०६४ बाट भुरा माछा पनि मागअनुसार बिक्री वितरण गर्न थालेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij