भरतपुर : चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयको पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्यविज्ञान संकाय परिसर, रामपुरमा बायोसेफ्टी लेभल टु प्लस प्रयोगशाला निर्माण गरिएको छ ।प्रयोगशालाको बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले सोमबार उद्घाटन गरे । प्रदेश सरकारको १५ करोड रुपैयाँको आर्थिक सहयोगमा निर्माण भएको प्रयोगशाला मन्त्री श्रेष्ठले विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियालाई हस्तान्तरण गरेका हुन् ।
प्रयोगशाला भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकासमन्त्री श्रेष्ठले विश्वविद्यालयमा निर्माण सम्पन्न भएको प्रयोगशाला भवन बागमती प्रदेश सरकारको गौरवको योजना रहेको बताए ।
मन्त्री श्रेष्ठले बागमती प्रदेशका छ लाख किसानसहित देशभरिका किसानले यसबाट लाभ लिनसक्ने बताए । प्रयोगशालामा गरिने अनुसन्धानबाट प्राप्त नतिजालाई व्यवहारमुखी बनाउने चुनौतीलाई सामना गर्नसमेत प्रदेश सरकारले सहकार्य गर्ने उनले बताए ।
कार्यक्रममा बागमती प्रदेश सरकारका वनमन्त्री कृष्णप्रसाद सिलवालले रोगका असर र रोकथामका विधि तयार गर्न प्रयोगशाला उपयोगी हुने बताए । प्रविधिको प्रयोगले प्रयोगशाला निर्माणको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बताउँदै मन्त्री सिलवालले विश्वविद्यालयमा पढाउने, अनुसन्धान गर्ने र किसानलाई समाधानका उपायहरु बाँड्न सफलता मिल्ने विश्वास व्यक्त गरे ।
प्रयोगशाला पशुपक्षी एवं खेतीबालीमा देखिने रोग, कीराको सूक्ष्म परीक्षणका लागि उच्चस्तरको विशिष्टिकृत सुरक्षा व्यवस्थासहित निर्माण गरिएको छ । ढुसी, व्याक्टेरिया, भाइरसको सूक्ष्म अध्ययन, अनुसन्धानका लागि प्रयोगशाला बहुउपयोगी रहने विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाले बताइन् ।
प्रयोगशालाको अधिकतम उपयोग गर्नका लागि विश्वविद्यालयमा सक्षम जनशक्ति रहेको बताउँदै उनले भनिन्, ‘नयाँ प्रयोगशाला भवन पूर्णरुपमा बायोसेक्युरिटीसहित बनेको छ । अहिले विश्वविद्यालयमा रहेकै मेसिनको प्रयोगबाट अगाडि बढ्ने छौँ ।’
प्रयोगशालालाई सञ्चालनका आवश्यक थप नयाँ मेसिनहरु खरिदका लागि पाँच करोड रुपैयाँ लाग्ने भएकाले त्यसका लागि प्रदेश सरकारसँग सहकार्य गरिने उनले बताइन् । प्रयोगशाला सञ्चालनका लागि कार्यविधिको मस्यौदा तयार भइसकेको र त्यसलाई अन्तिम रुप दिने कायै भइरहेको उपकुलपति प्रा.डा. थपलिया बताउँछिन् ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री दावादोर्जे लामा, विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. पुष्करबहादुर पाल, पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्यविज्ञान संकायका डिन प्रा.डा. भूमिनन्द देवकोटालगायतले मन्तव्य राखेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij