Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

जनतासंग पानीका कुराको पहिलो श्रृंखला पुरा

जनतासंग पानीका कुराको पहिलो श्रृंखला पुरा

रत्ननगर:रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत वडा नं ३ वडा समितिले जनतासंग पानीका कुरा कार्यक्रमको पहिलो श्रृंखला पुरा गरेको छ।खानेपानीको महत्व बुझाउदै उपभोक्ताको सुझाब संकलन र समस्या सामधानको लागि टोल स्तरमा जनतासंग पानीका कुरा कार्यक्रम सञ्चालन गरिएको थियो । वडा समितिले उक्त कार्यको शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरेको छ । संस्थाका अध्यक्ष माधव अर्याल प्रमुख अतिथि रहेको कार्यक्रममा कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडा समितिका संयोजक शम्भूभक्त थपलियाले सप्ताहव्यापी घरदैलो अभियान सञ्चालन गरिएको जानकारी दिए । घरदैलोमा पाइप लाइन नपुगेको ठाउँहरुमा पहिचान सहित विस्तार, पानीको गुणस्तरको अवस्था र समाधान, जन गुनासोको कुरा सम्बन्धित निकायमा राख्ने, उपभोक्ताहरुको सुझावलाई संकलन, पानीको स्रोत संरक्षणमा उपभोक्ताहरुको दायित्वलाई बोध, धारा नजोडेका उपभोक्ताहरुको अवस्थाको पहिचान गरी धारा जोड्न प्रेरित तथा बाँकी रहेका बक्यौता रकम असुली गराउन उपभोक्ताहरुलाई अनुरोध गरिएको संयोजक थपलियाले प्रतिवेदनमा उल्लेख गरेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष अर्यालले संस्थाको सेवा क्षेत्र भित्र खानेपानी वितरणमा आइपर्ने समस्याको पहिचान तथा त्यसको सामधाजको लागि जनतासंग पानीको कुरा कार्यक्रम सञ्चालन गरिएको बताए । रत्ननगर खानेपानी नेपालकै नमुना बनाउने गरी आफुले काम गरिरहेको भन्दै पानीको स्रोत संरक्षण र सरसफाईको क्षेत्रमा समेत काम भइरहेको बताए । धारा जडानमा छुट सहित किस्ताबन्दी र भूक्तानी प्रक्रियालाई डिजिटिलाइट गरिएको उनको भनाई छ । वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलले रत्ननगर खानेपानीले स्थानीय सरकारसंग मिलेर गरेको कार्य उदाहरणीय रहेको बताए । विपन्नलाई धारा जडान देखि खानेपानी गुणस्तर कायम राख्ने विषयमा संस्थाले नमुना काम गरेको उनको भनाई छ । वडा समितिले तयार गरेको कार्यगत प्रतिबेदन संस्थाका अध्यक्ष अर्याललाई हस्तान्तरण गरिएको छ । वडा समितिकी सदस्य गीता सिंखडाले स्वागत मन्तव्य राखेका उक्त कार्यक्रममा संस्थाका लेखा समितिका सदस्य कृष्ण घिमिरे, पूर्व वडा समिति संयोजक हिमालय खनाल, सामाजिक अगुवा राजेन्द्रकुमार कोइराला, जलदेवी टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण सिंखडा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा समितिका सचिव मनहरि खनालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij