Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

‘संस्थागत विद्यालयलाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन हुनु आवश्यक’

‘संस्थागत विद्यालयलाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन हुनु आवश्यक’

चितवन : संस्थागत विद्यालयलाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन हुनुपर्ने तथ्यमाथि जोड दिइएको छ । शुक्रबार प्याब्सन चितवनको कार्यालयमा भोलि शनिबार आयोजना हुने ‘संस्थागत विद्यालयको योगदान, अवसर र चुनौती' विषयक बृहत्त अन्तरक्रिया’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उक्त जोड दिइएको हो ।

गुणस्तरीय शिक्षाका माध्यमबाट प्रतिस्पर्धी जनशक्ति उत्पादनमा संस्थागत विद्यालयको भूमिका महत्त्वपूर्ण रहेको भएपनि समुदायको संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोण नफेरिएको भन्दै पत्रकार सम्मेलनको अध्यक्षता गरेका प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले संस्थागत विद्यालयहरूले राज्यको मातहतमा रही नियमानुसारको करसमेत तिरेर गुणस्तरीय शिक्षा प्रदान गरिरहेको भएता पनि समुदाायले संस्थागत विद्यालयलाई व्यापारको रूपमा मात्र हेर्ने गरेको बताए । ‘राज्यको नीतिअनुरुप स्थानीय पालिकाले तोकेको शुल्क लिँदा पनि निजी विद्यालयलाई व्यवसायसँग जोडेर हेरिनु दुःखद छ,’ उनले भने, ‘अधिकांश अभिभावकको रोजाइ संस्थागत विद्यालय हुन्छ तर त्यही समाजले संस्थागत विद्यालयलाई व्यापारीको रूपमा हेर्छ’, ‘यो दृष्टिकोण फेरिनु आवश्यक छ ।’

राज्यले बनाएको एउटै नीतिको कार्यान्वयन पक्ष सरकार फेरिएसँगै फेरिइरहँदा निजी विद्यालयहरू अप्ठेरोमा परेको बताउँदै अध्यक्ष पुरीले भने, ‘राज्यले हामीलाई पहिले कम्पनी ऐनअन्तर्गत सञ्चालन हुन वाध्य बनायो,’ उनले भने, ‘अब फेरि १० वर्षभित्र संस्थागत विद्यालयहरू गुठीमा जानू भन्ने बाध्यकारी नियम मान्न सकिँदैन ।’ ‘राज्यले सामुदायिक विद्यालयमार्फत् एक विद्यार्थीमाथि वार्षिक करिब एक लाख ५० हजार लगानी गरिरहेको बताउँदै निजी विद्यालयले ३०/३५ हजारमा गुणस्तरीय शिक्षा प्रदान गरिरहँदा पनि संस्थागत विद्यालयको शिक्षा महँगो भयो भन्ने आरोप लाग्नु न्यायसङ्गत छैन,’ उनले भने ।

पत्रकार सम्मेलनमा चितवनमा संस्थागत विद्यालयले ४८.६० प्रतिशत विद्यार्थी भार थेगेको बताउँदै सरकारले शिक्षाको सम्पूर्ण जिम्मेवारी लिई लगानी फिर्ताको ग्यारेन्टी गरे आफूहरू यसक्षेत्रबाट अलग्गिन तयार रहेको जानकारी दिइयो । सरकारले शिक्षामा गर्ने लगानीको हिसाबले आफूहरू ‘निजी भन्दा पनि सुधारिएको सामुदायिक विद्यालय’ भएको दाबी गरियो । कार्यक्रममा ९० प्रतिशतभन्दा धेरै इन्जिनियरिङ्ग र मेडिकल लाइनका विद्यार्थी निजी विद्यालयले उत्पादन गरेको र त्यसैअनुरुप देशमा दक्ष जनशक्ति उत्पादनमा निजी विद्यालयले योगदान गरिरहेको जानकारी दिइयो ।

निजी विद्यालयले युवा पलायनलाई प्रश्रय दिएको आरोपको खण्डन गर्दै प्याब्सन चितवनका वरिष्ठ सल्लाहकार लेखनाथ खनालले भने, ‘निजी विद्यालयले ग्लोबल्ली कम्पिटेटिभ’ जनशक्ति उत्पादन गरेको हो, युवा पलायनतालाई प्रश्रय दिएको होइन’, उनले भने, ‘विद्यार्थी पलायन हुनुमा सरकार पूर्णरूपमा दोषी छ’, ‘सरकारले युवालाई देशमै रोक्ने वातावरण बनाउन सकेन ।’

प्याब्सन चितवनका कोषाध्यक्ष युवराज पौडेलले संस्थागत विद्यालयले पुर्‍याएको योगदानलाई जनमानससम्म पुर्‍याउन, संस्थागत विद्यालयलाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन गर्न र यसका चुनौतीका बारे जानकारी दिन यो अन्तक्र्रियाको आयोजना गर्न लागिएको जानकारी दिए । पत्रकारसम्मेलनमा स्वागत मन्तव्य राख्दै प्याब्सन चितवनका सचिव दयानिधि अर्यालले विद्यालय र पत्रकारिताबीच कमलको कर्मका आधारमा समानन उद्देश्य रहेको बताए । अन्तरक्रियामार्फत् भोलि चितवन घोषणापत्र जारी गरिने र कार्यक्रममा विद्यालयको नियमन गर्ने निकायका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवाला गरी करिब एक सय ५० जनाको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij