चितवन : कवि एवम् पत्रकार कृष्ण सेन इच्छुकको २३औँ स्मृति दिवसको अवसरमा मङ्गलबार भरतपुरमा आयोजित एक कार्यक्रममा राजनीतिक परिवर्तनमा इच्छुकको योगदानबारे चर्चा गरिएको छ ।
प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटीले आयोजना गरेको ‘राजनीतिक परिवर्तनमा पत्रकार इच्छुकको योगदान’ विषयक अन्तरक्रिया एवम् पुरस्कार घोषणा कार्यक्रममा इच्छुकको योगदानबारे चर्चा गरिएको हो ।
आयोजक कमिटीका अध्यक्ष किशोर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव आयुष न्यौपानेले सञ्चालन गरेका थिए । प्रेस सेन्टर नेपाल केन्द्रीय समिति उपाध्यक्ष शान्ता अधिकारी कार्यक्रमको प्रमुख अतिथि थिइन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति सदस्य एवम् जिल्ला सहइन्चार्ज कञ्चन खनाल र भरतपुर महानगर समिति अध्यक्ष ईश्वर सापकोटा सुमनले इच्छुकबारे बोलेका थिए । सापकोटा बागमती प्रदेश सभा सदस्य पनि हुन् ।
यसैगरी, नेपाल पत्रकार महासङ्घ चितवन शाखा उपाध्यक्ष शान्ता अधिकारी, नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी नेपाल जिल्ला सचिव लक्ष्मण गौतम, प्रेस सेन्टर नेपाल जिल्ला अध्यक्ष राजेन्द्र आचार्य, सहिद स्मृति प्रतिष्ठान अध्यक्ष सङ्गीता भट्टराईलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटीले स्थापना गरेको तीन वटा पत्रकारिता पुरस्कारबारे जानकारी गराइएको थियो । ती पुरस्कारमा ११ हजार १ सय ११ रूपैयाँको इच्छुक आजीवन पत्रकारिता सम्मान, ९ हजार ९ सय ९९ रूपैयाँको प्रज्ञा उदीयमान पत्रकारिता पुरस्कार र ९ हजार ९ सय ९९ रूपैयाँकै ईन्द्रदेव रङ्ग पत्रकारिता पुरस्कार रहेका छन् ।तीन वटै पुरस्कार हरेक वर्ष माघ १५ गते प्रेस सेन्टर नेपाल स्थापना दिवसमा विशेष कार्यक्रमको आयोजना गरी दिइने प्रेस सेन्टर भरतपुरका अध्यक्ष किशोर सापकोटाले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij