Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

रत्ननगरमा घटना दर्ता सचेतना अभियान समापन : विपन्न समुदायलाई समयमै दर्ताको प्रोत्साहन

रत्ननगरमा घटना दर्ता सचेतना अभियान समापन : विपन्न समुदायलाई समयमै दर्ताको प्रोत्साहन

रत्ननगर : रत्ननगर नगरपालिकाले विपन्न र सिमान्तकृत समुदायलाई लक्षित गरी सञ्चालित ‘टोल टोलमा घटना दर्ता सचेतना अभियान’ सोमबार वडा नम्बर ५ को मगर टोलमा सम्पन्न भएको छ। वडा नम्बर १४ बाट सुरु भएको यो अभियान वडा नम्बर १५, ११, ९ हुँदै वडा नम्बर ५ को मगर टोलमा समापन भएको हो । जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता व्यक्तिगत घटनाहरूको दर्तालाई सहज, पहुँचयोग्य र शतप्रतिशत सुनिश्चित गर्ने उद्देश्यले सुरु भएको यो अभियानले नगरपालिकाभित्रका विपन्न बस्तीहरूमा कानुनी पहिचान स्थापित गर्न, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्यजस्ता सरकारी सेवाहरूमा पहुँच अभिवृद्धि गर्न र नागरिक सशक्तिकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले यो अभियानले सचेतनाको कमी र प्रक्रियागत जटिलताका कारण दर्ताबाट वञ्चित विपन्न समुदायलाई समयमै दर्ता गर्न प्रेरित गरेको बताए। ‘घटना दर्ता नहुँदा नागरिकहरूले कानुनी पहिचान र सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्यजस्ता सरकारी सुविधाहरू गुमाउनुपर्छ। यो अभियानले टोल टोलमा पुगेर यी समस्यालाई सम्बोधन गरेको छ,’ उनले भने। बस्ताकोटीले वडा कार्यालयहरू, स्थानीय नेतृत्व र टोलवासीको सक्रिय सहभागिताले अभियानलाई सफलता प्राप्त भएको उल्लेख गरे। उनले यो अभियानले रत्ननगरका विपन्न बस्तीहरूमा समयमै दर्ता गर्ने संस्कृतिको विकासमा बल पुर्‍याएको बताए।

वडा नम्बर ५ को मगर टोलमा आयोजित समापन कार्यक्रममा बस्ताकोटीले घटना दर्ताको कानुनी, सामाजिक र व्यावहारिक महत्त्वबारे विस्तृत रूपमा प्रष्ट्याए। ‘सचेतनाको अभावले धेरैजना सरकारी सेवाबाट वञ्चित छन्। यो अभियानले विपन्न समुदायलाई समयमै दर्ता गर्न प्रोत्साहित गरेको छ, जसले उनीहरूको अधिकार, पहिचान र सरकारी सेवामा पहुँच सुनिश्चित गर्छ,’ उनले भने। उनले स्थानीयको उत्साहजनक सहभागिता र वडा कार्यालयहरूको सहयोगले अभियानको प्रभावकारिता थप बढेको बताए। बस्ताकोटीले अभियानले स्थानीय समुदायमा दर्ता प्रक्रियाप्रति विश्वास र जागरूकता बढाएकोमा सन्तुष्टि व्यक्त गरे।

रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष बालकृष्ण चापागाँइले व्यक्तिगत घटनाहरू ३५ दिनभित्र दर्ता गर्नुपर्ने कानुनी प्रावधानको महत्त्वमाथि जोड दिए। ‘घटना दर्ता नहुँदा नागरिकहरूले सामाजिक सुरक्षा भत्ता, शैक्षिक अवसर, स्वास्थ्य सुविधा र अन्य सरकारी सेवाहरू गुमाउनुपर्छ। वडा कार्यालयले दर्ता प्रक्रियालाई सहज बनाउन पूर्ण सहयोग गर्नेछ, तर सत्य र सही विवरणसहित दर्ता गर्न सबैलाई अनुरोध छ। झूटो विवरणले कानुनी जटिलता निम्त्याउँछ,’ उनले भने। चापागाँइले यो अभियानले स्थानीय समुदायमा सचेतना अभिवृद्धि गरी कानुनी पहिचान र सरकारी सेवामा पहुँच सुनिश्चित गरेकोमा खुसी व्यक्त गरे।

वडा सदस्य निलु शर्मा खतिवडाले अभियानले विपन्न र सिमान्तकृत समुदायमा घटना दर्ताको महत्त्व बुझाउन ठूलो सफलता हासिल गरेको बताइन्। ‘यो अभियानले हाम्रा टोलवासीलाई समयमै दर्ता गर्ने बानी बसाल्न प्रेरित गरेको छ। हामी वडा कार्यालयबाट निरन्तर सहयोग गर्नेछौँ,’ उनले भनिन्। उनले विशेषगरी महिलाहरू र सिमान्तकृत समुदायका सदस्यहरूले यो अभियानबाट धेरै लाभ लिएको उल्लेख गरिन्। खतिवडाले यो अभियानले सामाजिक समानता र समावेशीकरणको दिशामा महत्त्वपूर्ण कदम चालेको बताइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij