रत्ननगर : रत्ननगर नगरपालिका वडा नम्बर ५ मा नगर आयोजना बैंकमा समावेश गरी १७औँ नगर सभामा प्रस्तुत गर्न टोल–बस्ती स्तरिय योजना छनोट कार्यक्रम सम्पन्न भएको छ। मगर टोलमा आयोजित उक्त कार्यक्रम मगर टोल विकास संस्थाका अध्यक्ष हिराकुमारी मगरको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ रहेका थिए।
कार्यक्रममा मगर टोलका स्थानीय बासिन्दाहरूले वडाको समग्र विकासका लागि आवश्यक योजनाहरू छनोट गर्न उत्साहजनक सहभागिता जनाएका थिए। गहन छलफल र सुझावका आधारमा सडक निर्माण, ढल निकास, खानेपानी, सरसफाइ, सामुदायिक भवन, शिक्षा, स्वास्थ्य सुविधा र अन्य पूर्वाधार विकासका योजनाहरूलाई प्राथमिकतामा राखिएको छ। छनोट गरिएका यी योजनाहरूलाई नगर आयोजना बैंकमा समावेश गरी आगामी १७औँ नगर सभामा पेश गरिने वडा सचिव दिनेश सुवेदीले जानकारी दिए। यी योजनाहरूले वडाको दिगो र समावेशी विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष बालकृष्ण चापागाईँले स्थानीय स्तरमा आयोजित यस्ता कार्यक्रमले जनताको वास्तविक आवश्यकता र प्राथमिकता पहिचान गर्न सहयोग पुग्ने बताए। उनले छनोट भएका योजनाहरूलाई कार्यान्वयन गर्न वडा कार्यालय र नगरपालिकाले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमकी अध्यक्ष हिराकुमारी मगरले मगर टोल विकास संस्थाले सधैँ समुदायको हित र विकासका लागि काम गर्दै आएको उल्लेख गर्दै यो कार्यक्रमले टोलको विकासमा नयाँ दिशा प्रदान गर्ने र स्थानीय बासिन्दाको सहभागिताले योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा वडा सदस्यहरू, स्थानीय बुद्धिजीवी, सामाजिक कार्यकर्ता, टोल विकास संस्थाका पदाधिकारी र मगर टोलका बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले योजना छनोट प्रक्रियामा आफ्ना सुझाव र विचारहरू प्रस्तुत गरेका थिए। यस्ता कार्यक्रमले स्थानीय स्तरमा विकासको स्पष्ट खाका कोर्न र जनसहभागितालाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij