रत्ननगर, जेठ १२ : पूर्वी चितवनको रत्ननगर उद्योग वाणिज्य सङ्घले महिलाहरूलाई उद्यमी बनाउने लक्ष्यसहित सातदिने सीपमूलक तालिम शुरू गरेको छ। रत्ननगर नगरपालिकाको सहयोगमा आयोजित यो तालिममा मौसमी फलफूलजन्य क्याण्डी, तितौरा र जाम बनाउने कला सिकाइने छ।
तालिमको उद्देश्य व्यवसायिक सीप विकासमार्फत स्वदेशमै स्वरोजगार, आत्मनिर्भरता र रोजगारी सिर्जना गरी आर्थिक समृद्धिमा योगदान पुर्याउनु रहेको छ। तालिममा भोगटे, खरभुजा, आँप, लिची, मेवा, आरु, अमला, लप्सीजस्ता फलफूल र तिनका बोक्राबाट क्याण्डी र जाम बनाउने तरिका सिकाइने छ।
उद्घाटन समारोहमा सङ्घका अध्यक्ष शङ्कर गिरीले स्थानीय सरकारसँगको सहकार्यमा महिलाहरूलाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको बताए। ‘हाम्रो लक्ष्य सीपमूलक तालिममार्फत उद्यमी महिलाहरू उत्पादन गर्नु हो,’ उनले भने। उनले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रूपमा सङ्घले व्यवसायिक सुरक्षा र उद्यमशीलता विकासमा निरन्तर काम गरिरहेको उल्लेख गरे।
तालिममा ३० जना महिलाको सहभागिता रहेको छ भने ज्यामबल कृषि फर्मका सञ्चालक कमला लामा र पेमा लामा प्रशिक्षकका रूपमा छन्। उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा सङ्घका निवर्तमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठले स्थानीय उत्पादनको उपयोगबाट निर्मित वस्तुले आत्मनिर्भरता बढाउने बताए। कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य राखेका थिए भने कार्यसमिति सदस्य ईश्वरी सिंखडा थापाले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij