चितवन : चितवनको पर्यटकीय नगरी सौराहाको हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण दिइएको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजना भएको प्रशिक्षणमा सहभागी माहुतेहरुलाई हात्तीको स्याहारसुसार, सफारी व्यवस्थापन तथा कानुनी प्रावधानहरुका बारेमा तालिम दिएको हो ।कार्यक्रम कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष शम्भुप्रसाद मालीका अनुसार बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनको सहयोगमा प्रशिक्षण दिइएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर कार्यालय प्रमुख शान्ताबहादुर मगर पर्यटन क्षेत्रको सकारात्मक सन्देश प्रवाह गर्न माहुतेहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सफारीमा चढेका पर्यटकलाई राम्रो व्यवहार गर्नुपर्ने बताए । उनले हात्ती सफारी गर्दा निकुञ्जको कानुन र हात्तीको स्वास्थ्यमा ख्याल गर्न माहुतेलाई आग्रह गरे ।बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बिपी चौधरीले चितवनको सफारी पर्यटनमा हात्ती र माहुते दुवैको भूमिका महत्वपूर्ण रहेको बताए । सफारी पर्यटनकै कारण सामुदायिक वनको आम्दानी उल्लेख्य रहेको भन्दै उनले आम्दानीको अधिकांश हिस्सा संरक्षणमा खर्च गर्दै आएको जानकारी दिए ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले अधिकारका कुरा उठाएर सौराहाको सफारी पर्यटन कमजोर बनाउन खोजिएको भन्दै यसतर्फ व्यवसायीहरु सचेत रहेको बताए । चितवनको पर्यटन जोगाउन व्यवसायीले हात्ती पालेको भन्दै उनले सफारी पर्यटनको विकासका लागि हात्ती र माहुतेको भूमिका प्रशंसायोग्य रहेको बताए ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर कार्यालय प्रमुख शान्ताबहादुर मगरले राष्ट्रिय निकुञ्जका बारेमा जानकारीसहित सफारीका क्रममा वन्यजन्तु देखाउँदा अपनाउनुपर्ने सावधानी, भेटेरिनरी डा अमिर सडौलाले हात्ती सफारीमा पाहुनासँग गर्ने व्यवहार, लैङ्गीक समानता, हात्ती र मानिसमा सर्नसक्ने रोग तथा भेटेरिनरी प्राविधिक किरणराज रिजालले स्वस्थ हात्ती र अस्वस्थ हात्तीको पहिचानका बारेमा प्रशिक्षण दिएको थियो । प्रशिक्षण कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij