Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नेपालमा २० गोताखोर थपिए, सुविधा र यन्त्र उपकरण पनि थप्न माग

नेपालमा २० गोताखोर थपिए, सुविधा र यन्त्र उपकरण पनि थप्न माग

चितवन : पानीभित्र गएर उद्धार गर्न थप २० जना गोताखोर तयार भएका छन्। बुधवार कुरिनटारमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले तालिम पूरा गरेका २० जना गोताखोरलाई प्रमाणपत्र प्रदान गरे। गृहमन्त्री, गृहसचिव र सह–सचिव, जनपद र सशस्त्र प्रहरीका महानिरीक्षक लगायत उच्च अधिकारी सहभागी उक्त कार्यक्रममा गोताखोरको सेवा सुविधा र उद्धारका लागि अपुग औजार उपकरणहरूको पनि कुरा उठ्यो ।

सशस्त्र प्रहरीको चितवन कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयमा गृहमन्त्री लेखक सामु शिक्षालयका समादेशक रहेका सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भरत खनियाँले गोताखोरहरूका स्वास्थ्य समस्यादेखि आधुनिक उपकरण तथा स्रोत साधनहरूको अभावका कुरा राखेका थिए। तालिम लिँदै गर्दा नै गोताखोरलाई निमोनिया हुने, कानमा समस्या पर्ने जस्ता विषय उनले उठाएका थिए।

गृहमन्त्री लेखक उपस्थित भएको माका परेर सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गोताखोरहरूलाई प्रोत्साहन भत्ता र बिमाको व्यवस्था गर्न सके राम्रो हुने बताए । ‘उनीहरूले गर्ने काम जोखिमयुक्त भएका कारणले गोताखोरलाई भत्ता र इन्सुरेन्स (बिमा)को राम्रो व्यवस्था गरे उनीहरूको मनोबल थप उच्च हुने कुरा प्रमुख अतिथि गृहमन्त्रीमा जाहेर गर्दछु,’ सशस्त्रका आईजीपी राजु अर्यालले भने । पुराना उपकरणहरूको मर्मत र नयाँ प्रविधियुक्त उपकरणको खरिदका लागि आवश्यक बजेट उपलब्ध गराउन मन्त्रालयसँग समन्वय गरिरहेको उनले बताए ।

आईजीपी अर्याल र एसएसपी खनियाँको कुरा सुनेका गृहमन्त्री लेखकले भने, ‘यसका लागि कोष बनाउने कि ? एउटा कार्यविधि बनाएर काम गरौँ ।’ शिक्षालयका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जनक पुरीले गोताखोरहरूले काममा जाँदाको दिनमा प्रति दिन तीन सय रुपैयाँका दरले अतिरिक्त भत्ता पाउने गरेको जानकारी दिए।

यसबाहेक १० लाख रुपैयाँ बराबरको बिमा हुने गरेको छ । गोताखोरहरूले मोल्ने जोखिमको तुलनामा सेवा सुविधा निकै न्यून रहेको चर्चा कार्यक्रममा उठ्यो । गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुन आवश्यक रहेको आईजीपी अर्यालको भनाइ थियो ।

नेपालमा पहिला गोताखोरहरू थिएनन् । नदी, ताल तलैयामा उद्धार गर्नु परे कहिलेकाहीँ विदेशबाट गोताखोर आउने गर्दथे । २०६९ सालको बैशाखमा सशस्त्र प्रहरीको कुरिनटार युनिटले २५ जनालाई तीन महिना बंगलादेश पठाएर पहिलो पटक गोताखोरको तालिम दिएको थियो । नेपालमा सशस्त्र प्रहरीको एक नम्बर बहिनीमा ०७६ सालको असोज ९ गतेदेखि कात्तिक २२ गतेसम्म पहिलो पटक गोताखोर तालिम सम्पन्न भएको थियो ।

त्यसयता हालसम्म सशस्त्र प्रहरीले मात्रै ६ पटक यस्ता तालिम पुरा गरेको छ ।  तालिम पुरा गरेका २० जनाले बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा गत चैत्र २५ गतेदेखि तालिम सुरु गरेका थिए । हालसम्म नेपालमा गोताखोरको तालिम पुरा गर्ने बंगलादेश गएको टोलीसहित १४३ जना पुगेका छन् । जसमध्ये कार्यरत सशस्त्र प्रहरीका मात्रै गोताखोरहरूको संख्या १२८ रहेको छ ।

शिक्षालयका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जनक पुरीले हाल सशस्त्र प्रहरीको युएन मिसनमा एक जनासमेत गरी देशभित्रका ११ युनिटहरूमा गोताखोरहरू तैनाथ भएर उद्धार गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij