चितवन : राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भरतपुर–१४ स्थित शिवनगर स्वास्थ्य केन्द्रको निरीक्षण गर्नुभएको छ । शनिबार दिउँसो स्वास्थ्य केन्द्र पुग्नु भएका अध्यक्ष दाहालले निर्माणधीन प्रयोगशाला भवनको पनि अवलोकन गर्नुभएको छ । स्वास्थ्य केन्द्र परिसरमा करिब रु १ करोड लागतमा प्रयोगशाला भवन निर्माण भइरहेको छ ।
स्वास्थ्य केन्द्र अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले स्वास्थ्य केन्द्र २५ शैयाको नगरस्तरीय अस्पताल बनाउन पहल गर्ने बताउनुभयो । नगरस्तरीय अस्पताल निर्माण गर्न यसका सम्बन्धित मन्त्रालयका मन्त्रीसँग आज नै कुराकानी गर्ने उहाँले जानकारी दिनुभयो । यो स्वास्थ्य केन्द्रलाई यसै आर्थिक वर्षको बजेट छुटाएर स्तरोन्तिको लागि पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
यस्तै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिवनगर स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पताल निर्माण गर्न नगर सभाबाट नीतिगत रुपमा निर्णय भइसकेको जानकारी दिनुभयो । प्रमुख दाहालले महानगरपालिकाको निर्णयसहित मन्त्रालयमा यसअघि नै पत्राचार भएपनि कुनै सुनुवाई नभएको उल्लेख गर्नुभयो ।अन्य पालिकाहरुको पालिकास्तरीय अस्पताल भएपनि भरतपुरमा यसै केन्द्रलाई नगरस्तरीय अस्पताल बनाउन नीतिगत निर्णय गरिएको महानगर प्रमुख दाहालले बताउनुभयो ।
वडा नम्बर १४ का अध्यक्ष एवम् स्वास्थ्य केन्द्रका अध्यक्ष राजेन्द्र साँखीले केन्द्रलाई स्तरोन्तिको आवश्यकता रहेको उल्लेख गर्नुभयो । केन्द्रमा रहेको एम्बुलेन्स चल्ने अवस्थामा नरहेकाले नयाँ एम्बुलेन्सको आवश्यकता रहेको जानकारी दिनुभयो ।शिवनगर स्वास्थ्य केन्द्र पश्चिम चितवनवासीहरु उपचार गर्ने प्रमुख स्वास्थ्य संस्था हो । यहाँ प्रसुति गृह, भिडियो एक्सरे र हप्ताको २ दिन विषेशज्ञ सेवा पनि उपलब्ध छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij