Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

रत्ननगर-९ मा घटना दर्ता सचेतना: स्थानीयको उत्साहपूर्ण सहभागिता

रत्ननगर-९ मा घटना दर्ता सचेतना: स्थानीयको उत्साहपूर्ण सहभागिता

रत्ननगर : रत्ननगर नगरपालिकाले व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत सुनिश्चित गर्ने लक्ष्यका साथ विपन्न र सीमान्तकृत समुदायलाई लक्षित गरी ‘टोल टोलमा घटना दर्ता सचेतना अभियान’ लाई तीव्रता दिएको छ। जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता महत्त्वपूर्ण व्यक्तिगत घटनाहरूको दर्ता प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सञ्चालित यो अभियान हाल वडा नम्बर ९ मा पुगेको छ। वडा नम्बर १४ बाट सुरु भएको यो अभियान वडा नम्बर १५ र ११ हुँदै बिहीबार वडा नम्बर ९ को दोभान टोल र पशु हाटबजार टोलमा सञ्चालन गरिएको हो।

बिहीबार दोभान टोल र पशु हाटबजार टोलका बासिन्दाहरूलाई वडास्थित ज्योर्तिमय सामाजिक संस्थाको भवन परिसरमा भेला गराई सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले सहभागीहरूलाई घटना दर्ताको महत्त्व, प्रक्रिया, कानुनी पहिचान र राज्यबाट प्राप्त हुने सेवासुविधाबारे विस्तृत जानकारी प्रदान गरे। उनले भने, ‘घटना दर्ता कानुनी पहिचान र राज्यका सेवासुविधा प्राप्त गर्ने आधार हो। तर, सचेतना र पहुँचको अभावमा धेरैजना यो सुविधाबाट वञ्चित छन्। यो अभियानले विशेषगरी विपन्न र सीमान्तकृत समुदायमा दर्ता प्रक्रियालाई सहज बनाउन जोड दिएको छ।’ बस्ताकोटीले सचेतना कार्यक्रममा टोलवासी गंगा कुमारी आले,मंजु परियार,सावित्री राई लगायतले उठाएका समस्याहरूको पहिचान गरी समाधानका लागि आवश्यक विकल्पहरू प्रदान गरेका थिए । कार्यक्रममा टोलवासीको वाक्लो उपस्थिती रहेको थियो र उनिहरुले खुलेर घटना दर्ता सम्बन्धि समस्या राखेका थिए ।

कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष अनन्त अधिकारीले व्यक्तिगत घटना भएको ३५ दिनभित्र अनिवार्य दर्ता गराउनुपर्ने प्रावधानबारे जोड दिए। उनले भने, ‘घटना दर्ता नहुँदा नागरिकहरू राज्यबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ। छुटेका वडावासीलाई वडा कार्यालयमा आएर दर्ता प्रक्रिया पूरा गर्न म अनुरोध गर्छु।’ वडा कार्यालयले दर्ता प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले घटना दर्ता गर्दा सत्य विवरण दिएर मात्र घटना दर्ता गर्न आग्रह गरे झुटो विवरण दिएर घटना दर्ता गर्दा दण्ड सजाय हुने भएकोले टोलवासीलाई सजग गराए । साथै उनले यो अभियानले स्थानीय समुदायमा सचेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नगरपालिकाले यो अभियानलाई वडा नम्बर १४, १५, ११ र ९ पछि यो चरणको अभियान वडा नम्बर ५ का विपन्न टोल र बस्तीहरूमा गर्दै समापन गर्नेछ । जेठ २० गते भित्र वडा नम्बर ५ मा सम्बन्धित टोल विकास संस्थाहरूसँग समन्वय गरी स्थानीयको सक्रिय सहभागितामा कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय नेतृत्व र समुदायसँगको सहकार्यलाई प्राथमिकता दिइएको छ।

कार्यक्रममा वडा सदस्य कमानसिंह चौधरी, वडा सचिव सुर्य ढुंगाना लगायतको उपस्थिति रहेको थियो। यो अभियानले स्थानीय समुदायमा घटना दर्ताको महत्त्वबारे सचेतना फैलाउन र कानुनी पहिचान सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij