Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवनमा प्रोस्टेट क्यान्सर सचेतनाका लागि मोटरसाइकल र्‍याली

चितवनमा प्रोस्टेट क्यान्सर सचेतनाका लागि मोटरसाइकल र्‍याली

भरतपुर : पुरूषमा हुने प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाका लागि चितवनमा मोटरसाइकल र्‍याली निकालिएको छ । रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनले सचेतनामूलक मोटरसाइकल र्‍याली निकालिएको हो ।

‘डिस्टिङ्गुइस्ड जेन्टलमेन्स राइड २०२५’ को अन्तर्राष्ट्रिय कार्यक्रम अन्तर्गत संसारका विभिन्न प्रमुख शहरहरुमा प्रत्येक वर्ष हुने गर्दछ भने नेपालमा पनि यस वर्ष चितवन, काठमाडौं, धरान र हेटौडामा स्थानीय मोटरसाइकल क्लबहरुको सहभागितामा भव्य रूपमा आयोजना गरिएको छ । र्‍यालीमा १३२ वटा क्लासिक भिन्टेज मोटरसाइकलहरु सहित औपचारिक ड्यापर ड्रेसमा विभिन्न उमेर समुहका महिला र बालबालिका गरी १६० राइडर्सहरु सहभागी भएको रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनका अध्यक्ष प्रितम श्रेष्ठले बताए ।

क्लबले चितवनमा विगत ७ वर्षदेखि सचेतनामूलक कार्यक्रम गर्दै आएको भन्दै उनले श्रीपाँच, डाहा भिन्टेज, डिसेप्टिकन्स, खल खास, लोको सवारी, माइलस्टोन, कावासोती एनफिल्डर्स लगायत चितवन तथा नवलपुरका विभिन्न मोटरसाइकल क्लबहरूका राइडर्सहरु पनि सहभागी भएको बताए । कार्यक्रमका सहजकर्ता रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनका सदस्य र समिट हेल्थकेयर अस्पताल, भरतपुरका कन्सल्टेन्ट फिजिसियन डा. शशांक कुमार सिंहले पुरुषको मानसिक स्वास्थ्य र प्रोस्टेट क्यान्सर सम्बन्धी सचेतना वृद्धिका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए । सोही प्रयोजनका लागि जनमानसको ध्यानाकर्षण गर्न मोटरसाइकल र्‍यालीको आयोजना गरेको उनको भनाइ छ ।

बिहान १० बजे भरतपुर महानगरपालिकाको कार्यालय अगाडि ग्रीन लीफ क्याफे बाट सुरू गरी बिरेन्द्र क्याम्पस चोक, चौबिस्कोठी हुँदै हाकिम चोक बाट भरतपुर बसपार्क चोक हुँदै, गोन्द्र्याङ सम्म पुगी फर्केर नारायणघाटको शहीद चोक, पुल चोक हुँदै, पोखरा बसपार्क, आँपटारी चोक हुँदै बाइपास रोडस्थित अताली रेस्टुरेन्टमा पुगेर बृहत जनचेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रम गरेर सम्पन्न भएको उनले जानकारी दिए । कार्यक्रममा राइडर्सहरुलाई प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यबारे डा. शशांक कुमार सिंहले जानकारी र सचेतना प्रदान गर्दैै ५० वर्ष उमेर नाघेका पुरूषमा प्रोस्टेट क्यान्सरको जोखिम बढी हुने बताए ।

प्रोस्टेट क्यान्सर प्रोस्टेट ग्रन्थीबाट सुरू हुन्छ उनले भने सबै पुरूषको मूत्राशयको नली आसपासमा रहेको हुन्छ । प्रोस्टेटले एक गाढा तथा सेतो तरल पदार्थ बनाउँछ । यसले अण्डकोषद्वारा निर्मित शुक्राणुसित मिलेर वीर्यको उत्पादन गर्छ, जसले वीर्यलाई तरल बनाउँछ । प्रोस्टेट ग्रन्थीको पछाडिको भाग गुदद्वारको नजिक रहेको हुन्छ, जब यो ग्रन्थीका कोशिका असामान्यरुपमा बढ्छ तब प्रोस्टेट क्यान्सर हुने सम्भावना हुन्छ । कार्यक्रमका क्लबका उपाध्यक्ष मन्दिपमान श्रेष्ठले आफुहरुले मोटरसाइकल र्‍यालीमा सम्मिलित राइडर्सहरुको लागी विभिन्न पुरस्कार पनि प्रदान गरेको जानकारी गराउनु भयो ।

पुरस्कार पाउने हरुमा एल्डर व्हीलम्यानः ५० वर्षका गोविन्द श्रेष्ठ, ओल्ड–स्कुल ग्लोरीः रुक्शन गुरुङ, टप डेपर फिटः शिव शाही र जुनियर जेन्टलम्यान लुकः १५ महिनाका कियाँश कर्ण थापा थिए भने कार्यक्रममा प्रकाश बि.क. र सुरेश लामा लगायतका गायक तथा संगीतकार हरुको मनोरञ्जनात्मक प्रस्तुति रहेको क्लबका सचिव रुक्सन गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij