Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

भरतपुरमा हावाहुरीले गोठको छानो उडाउँदा गाईको मृत्यु

भरतपुरमा हावाहुरीले गोठको छानो उडाउँदा गाईको मृत्यु

चितवन: चितवनमा शुक्रबार साँझपख आएको हावाहुरीले भरतपुर नगरपालिका–७ मा रहेको लम्साल कृषि तथा पशुपक्षी फार्मको छानो उडाउँदा टिनले लागेर एउटा गाईको मृत्यु भएको छ भने अर्को एउटा गाई सिकिस्त घाइते भएको छ । अन्य दुई वटा गाई सामान्य घाइते भएका छन् ।

फार्मका संचालक टीकाराम लम्सालले गोठमा १० वटा गाई, एउटा बाच्छो र एउटा भैँसी रहेको जानकारी दिँदै हावाहुरीले उडाएको टिनको छानोले लागेर चार वटा गाई घाइते भई ढलेकोमा दुई वटाले दाना पानी खाइरहेको, एउटा उठ्नै नसक्ने भई लडिरहेको र एउटा गाई मरेको जानकारी दिए ।

‘फार्म संचालन गरेको पाँच वर्ष भयो, अहिलेसम्म यस्तो विपद् झेलेको थिइन’ उनले भने, ‘रोगाएर वा बुढो भएर चौपाया मरेका थिए तर प्राकृतिक विपत्तिले पहिलोपटक एउटा गाई मरेको छ, अर्को गाई थला परेर मृत्यु पर्खिरहेछ । सलाइन लगाएर उपचार गराइरहेको छु तर बाँच्दैन जस्तो छ ।’

फार्ममा कुनै समय ३० वटासम्म गाईवस्तु पालेका लम्सालले अहिले भने दैनिक ८० लिटर दूध बिक्री गर्छन् । उनले गोठमा रहेका सबै चौपायाको बिमा गराएका छन् । एउटा चौपायाको मृत्यु हुँदा बिमाबाट एक लाख रुपैयाँ प्राप्त हुने उनले बताए । हावाहुरीको कारण गोठमा १० लाख रुपैयाँ बराबरको क्षति पुगेको लम्साल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij