Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

अङ्कुरम् ‘एसइई डिजिटल क्विज’मा चितवन राइनोज पहिलो

अङ्कुरम् ‘एसइई डिजिटल क्विज’मा चितवन राइनोज पहिलो

चितवन : भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा सम्पन्न ‘एसइई डिजिटल क्विज कम्पिटिसन’मा चितवन राइनोजले प्रथम स्थान हासिल गरेको छ । प्रेमवस्ती माध्यमिक विद्यालयका प्रसुन साकोटा र राजन राउत कुर्मी तथा ग्लोरियस एकेडेमीका साजन कँडेल र दिनेश लामिछाने सम्मिलित टिमले ९५ अङ्क प्राप्त गरी पहिलो स्थान हासिल गरेको हो ।

त्यसैगरी सनराइज स्कुलका अभिशेक पराजुली र आयुष श्रेष्ठ, होली भिजन पब्लिक स्कुलका रियाज अर्याल तथा पोलार स्टार इङ्गलिस स्कुलका एल्सन पौडेल सम्मिलित ‘डार्क नाइट’ टिमले ८५ अङ्क ल्याई दोस्रो स्थान हासिल गरेको छ ।त्यस्तै, तेस्रो स्थान प्राप्त गर्ने लिटिल फ्लावर स्कुलका महोदय भण्डारी, निश्चल खत्री, ओम अग्रवाल र ओजश कोइरालाको टिमले ६५ अङ्कसहित तेस्रो स्थान हासिल गरेको छ । १९ वटा टिमको सहभागिता रहेको क्विजमा क्वालिफाइङ राउण्डबाट ९ वटा टिम इलिमिनेट भएका थिए ।जनलर, आई.क्यू., आई टेस्ट, म्युजिकल, भिजुअल, इजी र भिजुअल गरी सात राउण्डमा गराइएको प्रतियोगितामा ‘इलिमिनेसन’ राउण्डपश्चात १० वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।

आइटी र व्यवहारिक जीवनसम्बन्धी प्रश्नहरु समेटी गराइएको स्पर्धामा दैनिक जीवनमा लागु हुने विषयमा केन्द्रित भई प्रश्नहरु तयार पारिएको +२ निर्देशक डा. आरएन धितालले जानकारी दिए । ‘विश्वको लामो नदी कुन हो ? भनेर सोधिने प्रश्नले भन्दा भिटामिन ‘बी–१२’ कमिले लाग्ने रोग कुन हो ? भन्ने प्रश्न बढी सान्दर्भिक हुन्छ’, उनले भने ।एसइई दिएर बसेका विद्यार्थीहरुको खाली समयलाई फलदायी बनाउन प्रतियोगिताको आयोजना गरिएको बताउँदै उनले प्रतियोगितामा भाग लिएका विद्यार्थीले ‘क्विज कम्पिटिसन’को तयारी कसरी गर्ने भन्ने समेत सिकेको बताए ।

निर्देशक डा. धिताल, कम्प्युटर साइन्स हेड अफ डिपार्टमेन्ट ई. तेज अर्याल र केमिस्ट्री हेड अफ डिपार्टमेन्ट एसएन खनाल क्विज मास्टर रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद पुरस्कार आठ हजार, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमले नगद पुरस्कार सात हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यसैगरी तेस्रो हुने टिमले प्रमाणपत्र र मेडल प्राप्त गरेको थियो । विजयी टिमलाई निर्देशक डा. धितालले पौडेलले पुरस्कार वितरण गरेका थिए भने कार्यक्रमको संयोजन अङुकरम् एकेडेमीको मार्केटिङ टिमका छविलाल महतोले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij