चितवन : आज ३२औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै छ।नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिन हरेक वर्ष जेठ ३ मदन–आश्रित स्मृति दिवस मनाइन्छ।
मदन–आश्रितको सम्झनामा नेकपा एमालेले विभिन्न कार्यक्रम गर्दै आएको छ। एमालेले स्मृति दिवस मनाउन पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई परिपत्र गरी स्मृतिसभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्यसम्पादन गर्न निर्देशन गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।एमाले चितवनले मदन भण्डारी फाउण्डेशनसँगको समन्वयमा मदन–आश्रित चढेको जीप दुर्घटना भएको स्थल दासढुंगामा स्मृती सभा गर्दै छ ।
एमालेले केन्द्रीयस्तरमा मदन नगर बल्खुमा बिहान ८ बजे स्मृति कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र मदन–आश्रित परिवारका सदस्यहरूलाई निमन्त्रणा गरेको उनले बताए।
एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीले समेत कार्यक्रम गरी यो वर्ष मदन–आश्रित स्मृति दिवस मनाउँदैछ। २०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो।दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा जीवित थिए। २०६० सालमा लामाको पनि हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij