Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

चितवन : भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ । महानगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्घारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो ।

आयोजनाको आज शिलन्यास गर्दै महानगर प्रमुख रेनु दाहालले पर्यटकीय गतिविधिसँगै वन्यजन्तु उद्घारमा टेवा पुग्नेगरी पार्क निर्माण गर्न लागिएको बताउनुभयो । प्रमुख दाहालले पूर्व–पश्चिम राजमार्गहुँदै आवत–जावत गर्नेहरुका लागि पनि पार्क उपयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “तीनै तहका सरकारको सामूहिक लगानीमा नमूना पार्क बनाइने छ ।”

उप–प्रमुख चित्रसेन अधिकारीले वन तथा वन्यजन्तु संरक्षणमा महानगरपालिका लागिपरेको जनाउँदै यसबाट नगरवासीले फाइदा लिन सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले वन र वन्यजन्तु संरक्षण गर्दै यसबाट फाइदा लिन सक्नुपर्छ ।”

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेल, बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदी, रामवेल सामुदायिक वनका अध्यक्ष माधव धिताल, पूर्वअध्यक्ष बेलबहादुर थापा लगायतले बोल्नुभएको थियो ।

वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्तले रु दुई करोड २३ लाख आठ हजार बजेटमा पार्क एवं खुल्ला चिडियाखाना बनाउन लागिएको बताउनुभयो । सो क्षेत्रमा संग्राहलय, पाँच वटा पोखरी, वन्यजन्तु उद्घार केन्द्र, गोलघर, फुट ट्रेल लगायतका संरचना बन्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij