काठमाडौँ : रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा यही वैशाख १७ गते स्ववियु कार्यसमिति चयन गरियो । स्ववियु निर्वाचन समितिको नामबाट सार्वजनिक भएको सूचनामा अनेरास्ववियुबाट स्ववियु अध्यक्षको उम्मेदवार बनेका लोकेश खड्काकाे अध्यक्षतामा २१ सदस्यीय स्ववियु कार्यसमिति निर्विरोध घोषणा गरिएको थियो ।
उक्त कार्यसमितिमा अनेरास्ववियुबाट अध्यक्ष खड्कासहित ५ जना थिए भने नेविसंघको तर्फबाट सचिवमा शैलेन्द्र उपाध्ययसहित ५ जना थिए । त्यस्तै उपाध्यक्षमा अखिल क्रान्तिकारीबाट संगम कुमार लामा तामाङसहित ४ जना थिए ।त्यस्तै अनेरास्ववियू, स्वतन्त्र, आरआर युथ फोर्स, वैज्ञानिक समाजवादी, अखिल समाजवादी र समाजवादी विद्यार्थी युनियनबाट पदाधिकारी तथा कार्यसमितिमा समावेश भएका थिए । उच्च अदालत पाटनको आदेश अनुसार सर्वपक्षीय बैठक बसी क्याम्पसको पठनपाठनलाई मध्यनजर गर्दै निर्विरोध रूपमा स्ववियु चयन गरिएको थियो
निर्विरोध चयन भएपछि नेविसंघ लगायतका उम्मेदवारहरूले आपत्ति जनाए । नेविसंघको तर्फबाट स्ववियु अध्यक्षको उम्मेदवार बनेका विनोदराज जोशी लगायतका ६ जना उम्मेदवारहरूले उच्च अदालत पाटनमा रिट समेत दायर गरे ।
आरआरको स्ववियु निर्वाचनको विषयले नेविसंघभित्र भने विवाद सिर्जना भएको छ । नेविसंघले केन्द्रीय सदस्यहरू अशोकसिंह विष्ट र विजय शाह (अनुराग) सहित ६ नेतामाथि अनुशासनको कारबाही गर्यो । नेविसंघको अनुशासन समितिले अनुशासनको कारबाही गर्दै उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो ।
त्यसको बदलामा विष्ट र शाहले नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र अनुशासन समितिका प्रमुख परोपकार अधिकारीलाई नै कारबाही गरेको पत्र सार्वजनिक गरे । जुन भाषामा उनीहरूलाई कारबाही गरिएको पत्र सार्वजनिक भएको थियो, सोही भाषा शैलीमा विष्ट र शाहले समेत शेर्पा र अधिकारीलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको जनाए ।
निर्विरोध स्ववियु कार्यसमिति गठनमा विष्टसहितका नेताहरू संलग्न थिए । उनीहरूले सङ्गठन तथा नेविसंघका आधिकारिक उम्मेदवारहरू कुनै छलफल समेत नगरी मनपरी ढङ्गबाट सहमति गरेको भन्दै स्पष्टीकरण सोधेको थियो ।
उक्त कार्यमा संलग्न रहेको भन्दै केन्द्रीय सदस्य द्वय विष्ट र शाहसहित जितेन्द्र तिमिल्सिना, शैलेन्द्र उपाध्याय, हिमेन्द्र शर्मा र शेखर रोकायालाई नेविसंघ अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो । उपाध्याय स्ववियु सचिवमा चयन भएका थिए भने रोकाया र शर्मा स्ववियु सदस्यमा चयन भएका थिए ।सोधिएको स्पष्टीकरणमा उनीहरूले उल्टै नेविसंघ अध्यक्ष शेर्पालाई कारबाही गर्नुपर्ने व्यहोरा जनाएका थिए । अन्य क्याम्पसहरूमा समेत नेविसंघ केन्द्रीय अध्यक्षले भागबन्डाका आधारमा स्ववियु बनाएको बताएका थिए ।
२०३६ सालदेखि एउटा सदस्य समेत नजितेको आरआरमा सचिवसहित ५ जना नेविसंघबाट स्ववियु कार्यसमिति राख्न सफल भएको उनीहरूको भनाई थियो । स्पष्टीकरण दिनुका साटो उल्टै अध्यक्षमाथि नै कारबाही गर्नुपर्ने व्यहोरोको जवाफ लेखेपछि अनुशासनको कारबाही गरिएको नेविसंघ प्रवक्ता सुरज सेजुवालले बताए ।सङ्गठनको विधानविपरित कार्य गरेको पाइएपछि साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको उनको भनाइ छ ।सङ्गठनका आधिकारिक उम्मेदवारहरूसँग कुनै छलफल नगरी उम्मेदवारभन्दा बाहिरका व्यक्तिलाई स्ववियु कार्यसमितिमा पठाउने कार्य गरिएको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij