Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

ग्रिन लाइनका सञ्चालक अमित अग्रवालले कसलाई तिर्नुपर्ने थियो डेढ करोड ?

ग्रिन लाइनका सञ्चालक अमित अग्रवालले कसलाई तिर्नुपर्ने थियो डेढ करोड ?

काठमाडौँ : काठमाडौँको कान्तिपथमा ग्रिन लाइन सेन्टर प्रालि नामको महङ्गो मदिरा पसल थियो । अहिले त्यहाँ सटर लागेको छ । सागर डिष्टिलरी प्रालिले सञ्चालन गरेको सो मदिरा व्यवसायका प्रमुख हुन्, अमित अग्रवाल । काठमाडौँ महानगरपालिका–३० बस्ने ४७ वर्षीय अग्रवाल मंगलबार स्वयम्भुबाट पक्राउ परे ।

बैकिङ्ग कसुर मुद्दामा उनलाई उच्च अदालत पाटनका न्यायाधिशद्वय गोकर्ण डाँगी र दिपेन्द्रबहादुर बमले १ करोड ५० लाख जरिवाना र बिगो भराउने फैसला गरेका थिए । २०८० जेठ २२ मा फैसलाको पूर्णपाठ आएपछि अग्रवालले त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन दिए । तर, तारेख गुजारेपछि उनी पक्राउ परेका हुन् ।

उच्च अदालतले उनलाई ३० दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसला अनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । अग्रवालले सो रकम पुमोरी डेभलपर्स प्रालिलाई तिर्नुपर्ने थियो ।

पुमोरी डेभलपर्स प्रालिका सञ्चालक ४७ वर्षीय पंकजशमशेर जबरासँग ‘व्यापार गर्न’ भनेर १ करोड ५० लाख रुपैयाँ सापटी मागेका थिए । पटक पटक गरेर लगेको रकम फिर्ता माग्दा नदिएका उनले दिएको हिमालयन बैंकको चेक बाउन्स भएको जाहेरवालाले बताएका छन् । चेक बाउन्स भएसँगै जबरा प्रहरीकहाँ पुगे ।

आफूविरुद्ध प्रहरीमा जाहेरी परेको थाहा पाएपछि अग्रवाल पसल बन्द गरेर परिवारसहित भारत तिर लागेका थिए । २०७८ पुसमा भारत गएका अग्रवालले माघमा नेपाल फर्किएर पत्रकार सम्मेलन गरेर भने, ‘सम्पत्ति बेचेर ऋण तिर्छु, बजारमा पनि करोडौं बक्यौता उठाउनु पर्नेछ ।’

उनले माघ २९ मा पत्रकार सम्मेलन गरेका थिए । ऋण तिर्ने उद्घोष गरेपछि प्रहरीलाई उनलाई त्यसबेला पक्राउ गरेन् । तर, प्रहरीमा दर्ता जाहेरी अनुसारको मुद्दा उच्च अदालतमा पुगेर फैसला भयो । त्यसपछि नेपालका चर्चित मदिरा ब्यवसायीलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नियन्त्रणमा लिएको हो ।

अग्रवालको अरु दुईवटा मुद्दा पनि फैसला भएको भेटिएको छ । २०८० असार २१ मा चेक अनादर मुद्दामा ३ हजार जरिबाना र २०८० फागुन २४ मा फैसला भएको दुई वटा मुद्दामा ४ हजार जरिवाना भएको भेटिएको छ ।

सहकारीको पनि फिर्ता गरेनन्

अग्रवालले सहकारीबाट लिएको रकम पनि फिर्ता नगरेको भेटिएको छ । वसन्तपुरमा रहेको रिभर सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण उनले फिर्ता नगरेका हुन् । उनले २०७६ सालमा लिएको १ करोड ६० लाख रुपैयाँ फिर्ता नगरेको सहकारीका सञ्चालकहरु बताउँछन् ।

रकम फिर्ता नदिएर अग्रवालले उल्टै सहकारीका सञ्चालक र कर्मचारीहरुलाई धाक धम्की दिने गरेको भन्दै प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट