Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्यारापिट र टावरको काम तीव्र

गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्यारापिट र टावरको काम तीव्र

भरतपुर : भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्यारापिट र टावरको काम भइरहेको छ । रङ्गशालामा चारवटा प्यारापिटमध्ये एउटाको ढलान सकिएको छ भने अरु प्यारापिटमा डन्डी राख्ने, ढलानका लागि प्लाई राख्नेलगायतका काम भइरहेको छ । दुईवटा टावरमध्ये एउटा टावरमा ढलानका लागि प्लाई राख्ने काम सकिएको छ भने दोस्रो टावरमा प्लाई राख्ने काम भइरहेको छ ।

भरतपुर महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार रङ्गशालामा प्यारापिट र टावर ढलानको कामले तीव्रता पाएको छ । ‘दैनिक सय जना जनशक्तिले काम गरिरहेको छ । हामीले मैदानको कामलाई रोकेर प्यारापिट र टावरको ढलानलाई अगाडि बढाएका छौँ’, उनले भने । धुर्मुस–सुन्तली फाउन्डेसनले यसअघि पाँच हजार दर्शक अट्ने प्यारापिट निर्माण गरिसकेको थियो । थप १० हजार जना अट्ने गरी प्यारापिट र मैदान निर्माण गर्न ठेक्का लगाइएको हो ।

रङ्गशालाको काम २० प्रतिशतभन्दा बढी सकिएको आचार्यले बताए । धुर्मस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिई काम अघि बढाएको हो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले रङ्गशाला निर्माणको जिम्मा पाएको हो । गत साउनमा बिबिआर जेभीले निर्माण सुरू गरेको हो ।

विसं २०८३ पुस २२ गतेसम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी ७८ करोड ५० लाख ९१ हजार १८९ रूपैयाँमा ठेक्का लगाइएको हो । गत असार २३ मा ठेक्का सम्झौता गरी काम सुरू गरिएको हो । रङ्गशाला निर्माणका लागि संघीय सरकारले २५ करोड र प्रदेश सरकारले १० करोड रूपैयाँ उपलब्ध गराइसकेका छन् । प्रदेश सरकारले ७० प्रतिशत र संघीय सरकारले ३० प्रतिशत उपलब्ध गराउने सहमतिअनुसार रङ्गशालाको काम अघि बढेको हो ।

पहिलो चरणको यो काम सम्पन्न भएसँगै अन्तर्राष्ट्रियस्तरका खेल यहाँ आयोजना गर्न सकिने छ । पहिलो चरणमा १० हजार जना दर्शक अट्ने प्यारापिट, दुईवटा भिआइपी टावर, मैदानसहित पाँचवटा पिच, ड्रेनेज (पानी निकास), रेलिङ, बाटो, पार्किङ क्षेत्र निर्माण गरिँदै छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर कृषि तथा वनविज्ञान विश्वविद्यालयले उपयोग गरिरहेको २० बिघा १९ कठ्ठा जमिनमा रङ्गशाला निर्माण भइरहेको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनलाई १८ करोड ८३ लाख रूपैयाँ अनुदान दिन महानगरले संघीय सरकारलाई सिफारिस गरेको छ । महानगरको गत चैत २८ गते बसेको कार्यपालिका बैठकले फाउन्डेसनलाई अनुदान दिन सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त सिफारिस खेलकुद मन्त्रालय हुँदै अर्थ मन्त्रालय पुगेको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । ‘मैले फलोअप गरिरहेको छु, अब आउने बजेटमा यसको सम्बोधन भएर समस्या समाधान हुने आश लिएको छु’, उनले भने, ‘प्रधानमन्त्री, अर्थमन्त्री, मुख्यसचिवलगायत सकारात्मक हुनुहुन्छ ।’

उधारोमा ल्याएको सामानको भुक्तानी दिन नसकेपछि फाउन्डेसनले रङ्गशाला निर्माण कार्यबाट हात झिकेको थियो भने निर्माणाधीन संरचनाको स्वामित्व महानगरलाई हस्तान्तरण गरेको थियो । महानगर र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा रङ्गशाला निर्माण कार्य अगाडि बढेको छ । उधारोमा ल्याएका निर्माण सामग्रीलगायतको भुक्तानीका लागि फाउन्डेसनलाई अनुदान दिन महानगरले सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij