Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नारायणगढ–मुग्लिन सडकमा समानान्तर बाटो खन्न थालियो

नारायणगढ–मुग्लिन सडकमा समानान्तर बाटो खन्न थालियो

चितवन : नारायणगढ–मुग्लिन सडक हुँदै यात्रा गर्नेहरूले मुग्लिन नजिक त्रिशूली नदीको पारिपट्टिको भित्तोमा मेसिनले पहाड काट्दै गरेको देखेको हुनुपर्छ । पहाड काट्दा निस्केको ढुंगामाटो सीधै त्रिशूली नदीमा झर्ने गरेको छ । केही दिनअघि धूलोले मुग्लिन बजार नै ढाकेर दुःख दिएको मुग्लिन निवासी इच्छाकामना गाउँपालिका–५ का वडाध्यक्ष तेजबहादुर शेरचन बताउँछन् । आखिर यसरी किन पहाड काट्ने काम भइरहेको छ ?

विस्तारपछि एसियाली मापदण्डअनुरूपको दुई लेनको फराकिलो बने पनि नारायणगढ–मुग्लिन सडकमा बर्खायाममा पहिरोले बर्सेनि यात्रुलाई सास्ती दिन्छ । राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक पहिरोले थुनिएका बेला यसको समानान्तर त्रिशूली पारिबाट अर्को सडक बनाउने चर्चा चल्ने गर्दछ । हाल सोही चर्चालाई मूर्त रूप दिने काम सुरु भएको हो ।

तनहुँ दमौलीको डिभिजन सडक कार्यालयसँग सम्झौता गरेर निर्माण व्यवसायीले काम सुरु गरेका छन् । पहाड काट्दा धूलो धेरै उडे पनि समानान्तर सडकको काम भने निकै थोरै हुँदै छ । यस वर्ष लगभग चार किलोमिटर सडकको ट्र्याक खोल्ने काम मात्रै सक्ने लक्ष्य रहेको दमौलीको डिभिजन सडक कार्यालयका सूचना अधिकारी रहेका इन्जिनियर राजेन्द्र कार्कीले जनाए । समानान्तर सडकको दूरी २४ किलोमिटर आसपास छ ।

मुग्लिन पारिबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–४ को पहाडको दक्षिणी पाटोबाट सुरु भएर गाईघाट, दासढुंगा, ठिमुरा पारि त्रिशूली नदीको आड हुँदै गैंडाकोट निस्कने वैकल्पिक सहायक राजमार्गका लागि सानो मात्रामा नै भए पनि यो वर्षबाट काम सुरु भएको इन्जिनियर कार्कीले बताए । गएको माघ २३ मा निर्माण व्यवसायीसँग सुरुको लगभग चार किलोमिटर सडकको कामका लागि सम्झौता भएको थियो ।

यस ठाउँमा आँबुखैरेनी गाउँपालिकाले समेत ट्र्याक खन्न सुरु गरेको थियो । त्यसैलाई थप फराकिलो बनाउने र पर्खाल लगाउने काम मात्रै यस वर्ष हुने दमौलीको डिभिजन सडक कार्यालयका सूचना अधिकारी रहेका इन्जिनियर राजेन्द्र कार्कीले बताए । वैकल्पिक सहायक राजमार्ग पनि ११ मिटर फराकिलो हुने उनको भनाइ छ । ‘ठाउँ नै अप्ठ्यारो भए मात्रै हो, नभए यो सडक पनि ११ मिटर चौडा नै हुनेछ,’ उनले भने ।

यो काम असार २५ सम्म सक्ने गरेर सम्झौता भएको छ । लागत अनुमान दुई करोड ६९ लाख रुपैयाँ रहे पनि एक करोड २६ लाख रुपैयाँ कबोल गर्ने निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ । गाउँपालिकाको समेत चासो र प्राथमिकतामा रहेको सो ठाउँमा सडक बनाउन संघीय बजेट नै आउनु सुखद भएको आँबुखैरेनी गाउँपालिका–४ का वडाध्यक्ष मिलन भुजेलको भनाइ छ ।

‘तर पहाड काटेको ढुंगामाटो सीधै त्रिशूली नदीमा खसेको छ । यसलाई व्यवस्थित गर्नुपर्छ,’ उनले भनिन् । शुक्रबार अनुगमनमा जाँदा पहाड खन्दा निस्कने ढुंगामाटो सीधै नदीमा नझारेर कतै भण्डारण गर्न भनेको डिभिजन सडक कार्यालयका इन्जिनियर राजेन्द्र कार्कीले बताए । ‘डम्प गर्न नमिल्ने ठाउँ पनि छ, त्यहाँ सीधै नदीमा झरेको हुनुपर्छ । नभए अरू ठाउँ त्यस्तो छैन,’ इन्जिनियर कार्कीले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij