१९ वैशाख, काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ६ महिनाभित्र महाधिवेशन गर्ने कार्यादेश सहित भ्रातृ संस्थामा सानो आकारको समिति बनाउन उपयुक्त हुने बताएका छन् ।
चैत मसान्तभित्र महाधिवेशन गराउन नसकेका भ्रातृ संस्थालाई भंग गर्ने वा समयावधि थप्नेमा पार्टीले निर्णय गरी नसकेको अवस्थामा नेता कोइरालाको यस्तो भनाइ बाहिर आएको हो ।कोइरालाले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘ठूलो संख्याको समिति आवश्यक छैन । महाधिवशेन गराउन कार्यादेश दिएर १२/१५ जनाको समिति बनाउन उपयुक्त हुन्छ ।’
महाधिवेशन गराउने कार्यादेश लिएर बनेको समिति समूहको भागबन्डाको आधार गर्न नहुने उनले बताए ।पार्टीको समूह नहेरी सक्षम व्यक्तिहरू सम्मिलित गरेर छ महिनाभित्र महाधिवशेन गर्ने कार्यादेश दिनुपर्ने उनले विचार राखे ।प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले महाधिवेशन पार्टीले दिएको समयावधिमा नवनिर्वाचित समिति ल्याउन सकेका छैनन् । चैत मसान्तभित्र तोकिएको अवधिमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक अपाङ संघ, भूतपूर्व सैनिक संघ, प्रजातान्त्रिक सेनानी संघ र मुस्लिम संघले अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका छन् ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्तीमगर, लोकतान्त्रिक अपाङमा संघमा माधव चम्लगाईं, भूतपूर्व सैनिक संघमा गर्जबहादुर गुरुङ, प्रजातान्त्रिक सेनानी संघमा बालकृष्ण दाहाल र मुस्लिम संघमा अताबुल मन्सुरीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र लोकतान्त्रिक अपाङ संघले पहिलोपटक महाधिवेशन गरेका हुन् ।नेविसंघमा दुजाङ शेर्पा, तरुण दलका विद्धान गुरुङ, महिला संघमा उषा राउत मिश्र, किसान महासंघमा गणेश तिमिल्सिना र दलित संघमा लोकबहादुर विश्वकर्मा तदर्थ समितिका सभापति छन् ।नेविसंघ ७५२, तरुण दल ४०१, महिला संघ ५३, किसान महासंघ ४६ सदस्यीय तदर्थ समिति छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij