विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा लगानीको उपयुक्त वातावरण भएको दाबी गरेका छन् । विराटनगरमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनमा लगानीकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।उनले यातायातको सञ्जाल भएको, समुन्द्रसँगको छोटो दुरी रहनु, विद्युत्को समस्या नहुनु, शान्ति सुरक्षा मजबुत अवस्थामा रहेको भन्दै लगानीको उपयुक्त समय भएको दाबी गरे ।
उनले नडुब्ने खालको उद्यमशीलतामा जोड दिन युवा वर्गलाई आग्रह गरे । ‘नेपालमा उपयुक्त लगानीको वातावरण छ । लगानीकर्ता, मजदुर र सरकारबिच कुनै मनमुटाब छैन,’ ओलीले भने, ‘नेपालमा श्रमिक, रोजगारदाता र सरकारकाबीचमा भएका सहमति अनुसार आइएलओको सिद्धान्त प्रभावकारी कार्यान्वयन गरिएको छ ।’उनले नेपालमा लगानीका लागि ढुक्कको वातावरण रहेको पनि बताए । ‘एउटा ढुक्कको वातावरण छ । त्यसो भएर अनुकूल वातावरण भएको हिसाबले पनि लगानीकर्ताले ढुक्कले लगानी गर्न सक्नुहुन्छ,’ उनले भने ।
कोशी प्रदेशमा यातायातको पूर्वाधार राम्रो बनिरहेको बताउँदै उनले लगानीकर्ताले सामान बजार पठाउने बेलासम्ममा सबै सडक पूर्वाधारहरू बनिसक्ने बताए ।उनले उद्योगीले चाहेको कच्चा पदार्थ जहाँ चाहियो त्यहाँसम्म पुर्याउन सक्ने व्यवस्था रहेको, हवाई मैदान राती पनि उड्नसक्ने बनाएको पनि उनले बताए । ‘बिजुली गाउँभरि पुगेको छ । त्यसकारण लगानीका लागि उपर्युक्त वातावरण छ । अब छिट्टै हामी नदीको बाटोबाट सामान र मानिसहरूको आवागमन सुरु गर्न सक्छौँ । कलकत्तासम्मका लागि । छिटो र सस्तो लागतमा ल्याउन सकिन्छ । हनुमान नगरमा पोर्ट राखेर गंगाको बाटो हुँदै हामी ल्याउन सक्छौँ । हामी कुरा गरिरहेका छौँ । बिचमा केही ढिलासुस्ती भयो । अब हामी गर्दैछौं । यो अर्को लगानीको लागि अनुकूल वातावरण हो,’ प्रधानमन्त्रीले भने ।
कलकत्ता पोर्ट नजिकै रहेको, भारतमा करोडौँ जनसङ्ख्या रहेको कारण कोशी प्रदेश लगानीको सम्भावना भएको क्षेत्र भएको उनले दाबी गरे । उनले संघीय सरकारले अध्यादेशमार्फत ऐन ल्याएर लगानीको वातावरण बनाएको कारण अप्ठ्यारो नभएको बताए । छिमेकी मुलुक भारततिर लक्षित गर्दै उनले स्वास्थ्य र शिक्षाको क्षेत्रमा लगानी गरे छिमेकी पनि लाभान्वित हुनसक्ने बताए । जडीबुटी कारखाना प्रशस्त चल्ने उनले बताए ।
विराटनगर कुनै बेला नेपालको एक मात्र औद्योगिक क्षेत्र भएको स्मरण गर्दै अहिले केही पछि परेपनि पुनः पुरानै अवस्थामा फर्किने उनले विश्वास दिलाए । ‘देशभित्रका उद्यमीलाई आग्रह गर्न चाहन्छु । राम्रो प्रतिफलका लागि लगानी गरौँ । बाहिरका साथीहरूको लागि आग्रह गर्न चाहन्छु । तपाईँहरूले कमाएको नाफा कानुन बमोजिम लान सक्नुहुन्छ । डबल ट्याक्सेसनको समस्या पर्दैन । जुनदेशमा कमाइन्छ, कमाएको देशमा ट्याक्स तिर्ने, प्रमाणपत्र लिएर जाने र ओरिजन आफ्नो देशमा मुनाफा लान पाउँछ । त्यहाँ कर लाग्दैन । यस विषयमा हामी एग्रिमेन्ट पनि गर्छौँ । सरकारले अरू कुनै समस्या पर्न दिइँदैन,’ ओलीले भने ।
उनले आगामी आर्थिक वर्षदेखि उद्यमशीलता दशक मनाउने पनि सङ्केत गरे । ‘उद्यमशीलता दशक मनाउनु पर्छ । उद्यमशीलता मनाएपछि रोजगारी प्राप्त हुन्छ । सरकारी रोजगारी कति ठाउँ हुन्छ ? को रिटायर्ड होला र जागिर दिने ? वर्षमा ४ लाख ५ लाख मानिस रोजगारीका लागि तयार हुन्छन् । हामी २०–२५ हजारलाई रोजगार दिइरहेका छौँ । त्यसकारण म युवाहरूलाई रोजगारी खोज्न भन्दा उद्यमशीलतामा लाग्न आग्रह गर्दछु,’ ओलीले भने ।
कोशी प्रदेश सरकारले महत्वका साथ गर्न लागेको प्रदेश लगानी सम्मेलन आज विराटनगरमा उद्घाटन भएको हो । विराटनगरस्थित विरेन्द्र सभागृहमा आयोजित उद्घाटन समारोहमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता रहेको प्रदेश सरकारको दाबी छ । यस्तै स्वदेशका प्रतिष्ठित उद्योगपतिहरू पनि यो लगानी सम्मेलनमा सहभागी छन् ।लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरू सोकेसिङमा राखेको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटिलगायतका क्षेत्रहरू छन् । लगानी सम्मेलनकै क्रममा दुई दर्जन बढी परियोजनामा भने सम्झौता (एमओयु) नै हुने लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij