काठमाडौँ : चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएलगतै दिनेश डिसीले वैशाखदेखि नियमित बक्सअफिस रिपोर्ट सार्वजनिक गर्ने व्यवस्था गर्छु भनेका थिए । गत मंगलबार ग्रामीण चलचित्र महोत्सवमा सहभागी चलचित्रलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले बक्सअफिस नियमित गर्ने व्यवस्था मिलाइसकेको र वैशाख अन्त्यसम्म कार्यान्वयन हुने जानकारी दिए ।
अध्यक्ष डिसीले बक्सअफिस रिपोर्ट तत्कालै सार्वजनिक गर्ने बताइरहँदा बोर्डले केही दिन अगाडि सार्वजनिक गरेको वर्ष २०८१ को वार्षिक बक्सअफिस रिपोर्टको निष्पक्षतामाथि प्रश्न खडा भएको छ ।
प्रदर्शन भइसकेका केही फिल्मको रिपोर्ट नै बोर्डद्वारा सार्वजनिक रिपोर्टमा गायब भएको हो । बोर्डले अघिल्लो साता उपलब्ध गराएको रिपोर्टअनुसार २०८१ सालमा ५९ नेपाली फिल्म प्रदर्शन भएका छन् । जसमा गत चैत २९ मा रिलिज भएका दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ भने सूचीकृत छैनन् । यी दुई फिल्मबाहेक पनि ५९ वटा फिल्मको सूचीबाट २ वटा क्रमसंख्या, फिल्मको नाम र व्यावसायिक रिपोर्ट नै गायब छन् ।
सूचीमा गायब भएका क्रमसंख्या हुन् २८ र ५७ । सूचीमा सिधै २७ पछि २९ र ५६ पछि ५८ उल्लेख छ । सूचीमा गायब भएको क्रमसंख्या २८ फिल्म ‘ज्वाइँ साब’को हो । फिल्म ‘छक्का पन्जा ५’को क्रमसंख्या २९, र ‘१२ गाउँको’ क्रमसंख्या ३० छ । ‘ज्वाइँ साब’, ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’ गत वर्ष दसैँको अवसर पारेर असोज २४ गतेदेखि एक साथ प्रदर्शनमा आएका थिए । त्यसैले बक्सअफिस रिपोर्टमा यी तीन फिल्मको क्रमसंख्या सँगै हुन्छ । त्यो हिसाबले क्रमसंख्या गायब भएको फिल्म ‘ज्वाइँ साब’ नै रहेको सजिलै अनुमान गर्न सकिन्छ ।
त्यस्तै, ५७ क्रमसंख्यामा फिल्म ‘द्रौपदी’ रहेको अनुमान गर्न सकिन्छ । किनभने क्रमसंख्या ५८ मा फिल्म ‘११ः५५’ छ । ‘द्रौपदी’ र ‘११ः५५’ गत चैत ८ गते एकसाथ प्रदर्शनमा आएका थिए ।
बक्सअफिस रिपोर्टमा आफ्नो फिल्म किन गायब भयो भन्नेबारे थाहा नभएको ‘ज्वाइँ साब’का निर्देशक बसन्त निरौला बताउँछन् । ‘बक्सअफिस रिपोर्टमा मेरो फिल्मको नाम र रिपोर्ट छैन । यो त आश्चर्य भयो’, निरौलाले भने ‘यस विषयमा के भएको रहेछ, म बुझेरमात्र भन्न सक्छु ।’
‘द्रौपदी’का निर्देशक ऋषिराज आचार्यले पनि आफ्नो फिल्मको नाम सूचीबाट हटेको विषयमा अनभिज्ञता प्रकट गरे । ‘मेरो फिल्म अझै धेरै स्थानमा चल्न बाँकी छ’, निर्देशक आचार्यले भने, ‘त्यहाँ रहनेछ, राम्रै भयो ।बक्सअफिस रिपोर्टमा चलचित्र गायबको विषय आफूलाई पनि राम्रोसँग जानकारी नभएको बोर्डका सदस्य तथा प्रवक्ता सन्तोष लोहनी बताउँछन् ।
‘बोर्डमा म आएको भर्खर हो । अहिले बक्सअफिस हेर्ने टिम बिदामा छन्’, लोहनीले भने, ‘त्यो टिमसँग बसेपछि डिटेलमा के भएको रहेछ, बाहिर ल्याउँछु ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij