काठमाडौँ : नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट डा.गुणाकर भट्टले राजीनामा दिएका छन् ।
राष्ट्र बैङ्कको १८ औँ गभर्नर बन्ने प्रतिस्पर्धामा रहेका भट्टले गभर्नर नियुक्तका लागि उच्च राजनीतिक नेतृत्वबाट सकारात्मक सङ्केत पाएपछि शुक्रवार कार्यकारी निर्देशकबाट राजीनामा बुझाएका हुन् ।डा.भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएको बताए । उनले गभर्नर नियुक्तिमा राजीनामा दिनु पर्ने भएकाले राजीनामा दिएको पनि बताए ।
डा. भट्टले भने,‘ गभर्नरका लागि कार्यकारी निर्देशकबाट राजीनामा दिनु पर्ने भएकाले मैले आज राजीनामा दिए । अन्य अब प्रक्रिया हेर्नुपर्छ ।’
राष्ट्र बैङ्कको बहालवाला कार्यकारी निर्देशकलाई गभर्नर नियुक्त गर्ने विषयमा कानुनी अन्यौलता देखिएको छ । कानुनी अन्यौलतासँगै भट्टले उच्च राजनीतिक नेतृत्वबाट गभर्नर बनाउने पक्का भएसँगै राजीनामा दिएका छन् । अब बस्ने मन्त्रिपरिषद्को बैठकले डा.भट्टलाई गभर्नर नियुक्ति गर्ने निश्चित जस्तै भएको छ ।
गत बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच गभर्नरको भागवण्डा टुङ्गिएको छ । गभर्नर काँग्रेसको भागमा पर्ने गरी भागबन्डा टुङ्गिएपछि भट्टले राजीनामा दिएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij