Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

संविधान विरोधी गतिविधि कुनै पनि हालतमा क्षम्य हुँदैन : गृहमन्त्री लेखक

संविधान विरोधी गतिविधि कुनै पनि हालतमा क्षम्य हुँदैन : गृहमन्त्री लेखक

पोखरा : गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उनले पूर्वराजावादी या अरू कुनै पनि नाममा हुने संविधान विरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनै पनि हालतमा क्षम्य नहुने बताए ।

वर्तमान संविधान ठुलो बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त भएको उल्लेख गर्दै उनले यसको रक्षाका लागि प्रत्येक ठाउँहरू तयार हुनुपर्ने बताए । वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको उनको भनाइ छ । नेपालमा सात दशकको अन्तरालमा सातवटा संविधान बनेको उल्लेख गर्दै मन्त्री लेखकले पटक पटक संविधान बन्नु राम्रो नभएको बताए।

संविधान भित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइने बताउँदै उनले संविधान विरोधी गतिविधिका माध्यमबाट हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्ने जस्ता अराजक गतिविधि गर्न नपाइने र गरिएमा कानुन अनुसार कारबाही हुने उनले स्पष्ट पारे । संविधानको सुरक्षा आजको आवश्यकता भएको भन्दै उनले वर्तमान संविधान निर्माणको १० वर्षे समयावधिको आवश्यक समीक्षासहित सम्बद्ध सबैसँग सहमति कायम गरेर आवश्यकताको आधारमा संशोधन गर्न सकिने उनले बताए।

पछिल्ला वर्षमा लागु औषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रूपमा देखा परेको बताउँदै मन्त्री लेखकले यी सबै चुनौतीको समाधान गर्नेतर्फ सरकार निरन्तर क्रियाशील रहेको बताए ।सेवा प्रवाहलाई प्रभावकारी बनाउनु अपरिहार्य भएको बताउँदै उनले जनतालाई सेवा दिने कुरामा कुनै किसिमको कसर बाँकी नराख्न आग्रह गरे ।

जिल्लास्थित जिल्ला प्रशासन कार्यालय संघको प्रतिनिधि रहेको उल्लेख गर्दै यस कार्यालयले संघ, प्रदेश र स्थानीय तहबिच आपसी समन्वय गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए । सेवालाई नागरिक मैत्री तथा प्रविधि मैत्री बनाउँदै लैजानुपर्ने उनको भनाइ छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश प्राकृतिक विपत्तिका दृष्टिबाट पनि जोखिमपूर्ण प्रदेश भएको बताउँदै यी जोखिमलाई समाधान गर्नेतर्फ सरकार निरन्तर लागिपरेको बताए । बाढी पहिरोसँगै भूकम्प लगायतका विपत्तिमा प्रतिकार्यमा सरकार निरन्तर लागिपरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij